सुर्खेत, २०७४ साल साउनको अन्तिम सातातिर तत्कालीन काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले तत्कालीन पाँच विकास क्षेत्रमध्येको मध्यपश्चिम विकास क्षेत्रलाई फुटालेर संघीयतापछिको ६ वटा प्रदेश बनाउने निर्णय गरे । मध्यपश्चिमका साविक कर्णाली अञ्चलका पाँच जिल्लासहित सुर्खेत, दैलेख, जाजरकोट र सल्यान तथा रुकुम पश्चिमलाई सुदूरपश्चिम विकास क्षेत्रमा गाभेर ६ वटा प्रदेश बनाउने निर्णय गरेलगत्तै संसदमा सवैभन्दा पहिलो प्रतिवाद गर्ने व्यक्ति थिए हृदयराम थानी ।

साविक मध्यपश्चिमलाई सुदूरपश्चिममा गाभ्न कदापि पाइदैन र छुट्टै प्रदेश बनाउने तथा त्यसको राजधानी सुर्खेत वीरेन्द्रनगर हुनुपर्ने भनी नेता थानीले अडान राखी राजनीतिक दलका शीर्ष नेतृत्वहरुमा दौडधुप गरे । त्यतिमात्र होइन, छुट्टै प्रदेश र त्यसको राजधानी सुर्खेत हुँदैन भनेर म यो संसद पनि हुँदैन भनेर सांसदको लोगोसमेत फुकालेर शीर्ष नेतृत्वलाई उनले चेतावनी दिए ।
सरकारको निर्णयप्रति सुर्खेतलगायत अन्य जिल्लामा आक्रोश उठिसकेको थियो । आन्दोलन गर्नुपर्छ भन्ने भावना सवैमा उठिसकेको थियो । सुर्खेतमा केही छुट्टै नागरिक स्तरबाट सरकारको उक्त निर्णयका विरुद्ध आन्दोलनका ज्वारभाटा उठ्न लागेको थियोभने माथि संसदमा नेता थानीले उक्त निर्णय विरुद्ध आपत्ति जनाउँदै एक्लै डटिरहेका थिए । त्यतिबेला सुर्खेतका निर्वाचित भएका अन्य सांसदहरु सरकारै ६ प्रदेश विभाजनप्रति मौन समर्थन जनाइ कुनै विरोध नै गर्न सकेका थिएनन् । थानीले संसदभित्र र सुर्खेतमा नागरिक समाज लगायत राजनीतिक दलहरुले सरकारको तत्कालीन निर्णयविरुद्ध आन्दोलन छेडे । साउन २४ गतेदेखि सुर्खेतमा आन्दोलन सुरु भयो ।
उक्त आन्दोलनका क्रममा सुर्खेतमा तीन जना शहीद भए । जुम्लामा एक जना शहीद भए । सुर्खेतका टिकाराम गौतम, याम विसी र गोपाल रजवार तथा जुम्लाका हरिबहादुर कुँवर शहीद भए । थुपै्र घाइते भए । सुर्खेत, जुम्ला, जाजरकोटलगायतका जिल्लामा सुदूरपश्चिम जाँदैनौ भन्ने नारा लगाइ छुट्टै प्रदेश र राजधानी सुर्खेत हुनुपर्ने एक सूत्रीय अडान राखियो । संसदमा नेता थानी छुट्टै प्रदेश र राजधानी सुर्खेत हुनुपर्ने विषयलाई लिएर दलहरुवीच लविङ गरिरहे । तत्कालीन काँग्रेस महामन्त्री एवं संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलालाई प्रधानमन्त्री सुशील कोइरालाले जिम्मा लिएर यस विषयमा अध्ययन गर्न लगाए । नेता थानीले सिटौलालाई पनि बारम्बर उक्त कुरा राख कन्भिन्स गराउन सफल भए ।
अन्तमा, सरकार पूर्व घोषित ६ प्रदेशबाट सात प्रदेश बनाउन बाध्य भयो । साविक कर्णालीका पाँच जिल्लासहित सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमसहित १० जिल्ला समावेश गराएर ६ नं प्रदेश घोषणा भयो । आन्दोलनको बलबाट स्थापना भएको हुँदा यो प्रदेशको जन्म नै संघर्षबाट भयो । जिल्लामा राजनीतिक दल, नागरिक समाजलगायत व्यक्ति व्यक्तिले संघर्ष गरेभने संसदमा हृदयराम थानीले अनवरत संघर्ष गरे । ढिलो प्रदेश स्थापना भएपनि मुलुकका सात प्रदेशमध्ये यही प्रदेशले आफ्नो नाम र राजधानी सवैभन्दा छिटो तोक्न सफल भयो । २०७४ फागुन २४ गते प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर सुर्खेत नामाकरण भयो । नाम र प्रदेश राजधानी तोक्ने सम्वन्धमा कसैको विरोध भएन ।

अहिले २०७९ साल मंसिर ४ गते प्रदेश तथा संघीय निर्वाचन हुँदैछ । उनै नेता हृदयराम थानी सुर्खेत क्षेत्र नं. २ को प्रतिनिधिसभा तर्फको उम्मेदवार बनेका छन् । शीर्ष नेतृत्वलाई चुनौति दिएर स्थापना भएको कर्णाली प्रदेशको विकास सोचे अनुसार हुन नसकेकोलगायत विभिन्न एजेण्डाहरु उनले लिएर चुनौवी मैदानमा उत्रिएका छन् । निकै संघर्ष गरेर स्थापना भएको प्रदेश र राजधानीको विकास तथा समृद्धि गर्ने एक सूत्रीय अठोट उनको रहेकोले सुर्खेत क्षेत्र नं. २ मा मतदाताले आफूलाई पुनः एक पटक विश्वास गर्ने आशामा थानी रहेका छन् ।
प्रकाशित मिति: २९ आश्विन २०७९, शनिबार १८:३९