आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभामा सुर्खेतमा गठवन्धनका सवै उम्मेदवारहरुले विकास र निकासको नेतृत्व लिने दृढता व्यक्त गरेका छन्।उनीहरुले गठवन्धन बलियो भएकोले देशको र प्रदेशको नेतृत्व लिने उपयुक्त अवसर आएकोले सवैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेका छन्।
आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बाम गठवन्धनका तर्फबाट बनेका प्रदेश तथा संघमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुले गठवन्धन टुटाउन कसैले नसक्ने हुँदा जीत सुनिश्चित भएको दावी गरेका छन्।उनीहरुले विकास र निकासको नेतृत्व यही गठवन्धनबाट उम्मेदवार बनेकाहरुले दिने जिकिर गर्दै रत्तिभर पनि विचल्लित नहुन सुझाव दिएका छन।
बाम गठवन्धनका तर्फबाट प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार एवं काँग्रेस पूर्व केन्द्रीय सदस्य हृदयराम थानीले गठवन्धनमा सरिक दलहरु एउटै डुंगामा बसेकोले कसैले पनि तलमाथि नगर्न आग्रह गर्नुभयो।उहाँले गठवन्धनमाथि शंका नगर्न पनि आग्रह गर्दै जिल्ला तथा प्रदेशको विकास र निकास दिने नेतृत्व गठवन्धनबाटै हुने बताउनु भयो।उहाँले अहिले देश र प्रदेशको विकास तथा समृद्धिको नेतृत्व गर्ने सुनौलो मौका पनि आएकोले त्यसमा सवैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो।
उहाँले आफू निर्वाचित भएमा नातागोतालाई नियुक्ति नगर्ने र भ्रष्टाचार कदापि नगर्ने प्रतिवद्धता पनि जनाउनुभयो।प्रदेश स्थापना गर्दा जसरी नै अहिलेको निर्वाचनमा पनि गठवन्धनलाई साथ र समर्थन गर्न पूर्व मन्त्रीसमेत रहनुभएका थानीले जोड दिनुभयो।सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपनि अनुसारको विकास हुन नसकेको भन्दै उहाँले आफूहरुले मात्रै विकासको नेतृत्व गर्न सकिने उल्लेख गर्नुभयो।
यस्तै कार्यक्रममा निर्वाचन क्षेत्र नं. २ प्रदेश ख का उम्मेदवार विन्दमान विष्टले सुर्खेतलाई प्रदेश र देशको विकासको नेतृत्व गर्ने सुनौलो अवसर आइसकेको दावी गर्नुभयो।उहाँले प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नं. १ बाट काँग्रेस उपसभापति एवं पूर्व गहृमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा पूर्व मन्त्री हृदयराम थानी केन्द्रमा पहुँच भएको नेतृत्व भएको र प्रदेशमा पनि अनुभवी नेतृत्व भएकोले सुर्खेतलाई सुनौलो अवसर आएको जनाउनुभयो।क्षेत्र नं. २ प्रदेश कका उम्मेदवार कालीप्रसाद शाक्यले विकास र समृद्धिका लागि वाम गठवन्धनको जीतको विकल्प नरहेको दावी गर्नुभयो।उहाँले विगतमा एमालेले जित्दा सुर्खेत र प्रदेशको विकास हुन नसकेको आरोप लगाउँदै अव गठवन्धनले जितेमा समृद्धि पहिलो प्राथमिकता हुने उल्लेख गर्नुभयो।
क्षेत्र नं. १ प्रदेश क का उम्मेदवार खड्क पोख्रेल र प्रदेश ख का उम्मेदवार कृष्ण जिसीले गठवन्धन बलियो भएकोले आधा निर्वाचित जितिसकेको दावी गर्नुभयो। उहाँहरुले आफूहरु राष्ट्रिय नेताहरुको नेतृत्वमा निर्वाचनमा होमिएकोले गठवन्धनबाट दाँयाबाँया नगर्न आग्रह गर्नुभयो।
कार्यक्रममा संघ र प्रदेशका समानुपाति उम्मेदवाहरु लोकबहादुर विश्वकर्मा, हरिमाया शर्मा, जानकी सिंह, उपेन्द्र थापा, सन्जुसिंह विश्वकर्मा र देवीसरा सुनारले पनि गठवन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गर्नुभएको थियो ।
प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार १६:२२