कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्डका विभिन्न ९३ ठाउँमा पहिरो गएको छ । असोज १९ गते दसैंको टीकाको दिनदेखि लगातार भएको वर्षाले कालिकोट खण्डमा मात्र ७३ ठाउँमा पहिरो गएको छ भने बाँकी दैलेख र जुम्ला खण्डमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।कर्णालीवासीको भरपर्दो आवतजावत गर्ने एक मात्र माध्यम कर्णाली राजमार्ग अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको छ । हवाइजहाज पनि नहुँदा जुम्ला, मुगु, हुम्ला र बाजुराको पूर्वी भेग कोल्टी क्षेत्रका बासिन्दा पनि पैदल हिँडेर आउजाउ गर्न बाध्य छन् ।
सडक अवरुद्ध भएपछि ३/४ दिन लगाएर स्थानीयले पैदल हिँड्नु परेको गुनासो गरेका छन् । ‘घरबाट हिँडेको ३ दिन भयो बल्ल मान्म पुगियो,’ नेपाली सेनामा भर्ना फारम भर्न जुम्ला जान आएका दैलेख भैरवी ३ का सागर थापाले भने, ‘जुम्ला पुग्न नसकिने भइयो, यत्रैबाट फिर्ता हुनुपर्ने भयो ।’ नेपाली सेनामा दरखास्त दिने अन्तिम म्याद असोज २५ गतेसम्म मात्र भएकाले सडक नहुँदा दुःख पाइएको उनले गुनासो पोखे ।
पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत र दैलेख खण्ड एकतर्फ साना गाडी चल्ने अवस्थामा खुले पनि कालिकोट खण्ड संचालनमा आउन एक सातभन्दा बढी समय लाग्ने कालिकोटका प्रजिअ रामहरि शर्माले बताए । जताततै पहिरो गएको भन्दै कालिकोट खण्डमा जटिल अवस्था रहेको उनले बताए । पहिरोका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै मुस्किल परेको उनको भनाइ छ ।
सुर्खेतदेखि जुम्लासम्म २ सय ३२ किमी सडकमा ठाउँठाउँमा पहिरो गएकाले गाडीभन्दा पनि पैदल हिँड्न समेत कठिन छ । शुभकालिका ७ मुग्राहाबाट मान्म पुग्न ५ घण्टा लागेको पूर्वपालिका उपाध्यक्ष पम्फा शाहीले बताइन् । कर्णाली राजमार्गका कतिपय ठाउँमा त पैदल हिँड्ने बाटो पनि नरहेको स्थानीयहरू बताउँछन्। मोल्फाबाट मान्मसम्म १४ मिकी कर्णाली राजमार्गमा पहिले डेढ घण्टामा पुग्न सकिने भए पनि अहिले पैदल हिँडेर आउन ३ घण्टा लागेको शाहीले बताइन् । शाहीका अनुसार मोल्फाबाट यता मात्र २१ ठाउँमा ठूला पहिरो गएका छन् ।
लगातारको वर्षाले कर्णाली करिडोर पनि पूर्ण रुपमा अवरुद्ध छ । कर्णाली राजमार्गबाट छुटिएर बाजुरा हुँदै हुुम्लाको सिमाना सल्लीसल्लासम्म ट्र्याक ओपन भएको करिडोर हाल पूर्ण रुपमा बन्द छ ।
पल्ला गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले भने पैदल हिँड्ने बाटो पनि नभएको बताए । कालिकोटका ५ वटा स्थानीय तहसहित बाजुराको कोल्टी क्षेत्र, मुगुको पश्चिम भेगर हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली करिडोरमा गाडी नचल्दा यात्रुहरू पिठ्युँमा भारी बोकेर पैदल हिँड्न बाध्य भएको पचालझरनाका प्रकाश शाहीले बताए ।
उनका अनुसार फुगाडा खोलामा पुल नहुँदा पैदल हिँड्न पनि कठिन छ । फुगाड खोलाको बेलीब्रिज २ वर्षअघिको बाढीले बगाए पनि हालसम्म नयाँ पुल निर्माण हुन सकेको छैन ।
प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलवार १९:५५