अविरल वर्षाले ठाउँठाउँमा पहिरो खस्दा कालीकोट जिल्लाभर बेपत्ता भएका २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ । १९ जना अझै बेपत्ता छन् । यहाँको तिलागुफा ४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । दुई जना घाइते अवस्थामा बाच्न सफल भएका छन् ।घाइते स्थानीय टेकराज शाही र अबराज शाहीलाई थप उपचारको लागि हेलिकोप्टरमा सुर्खेत लगिएको छ । आइतबार बिहान साढे १० बजे तिलागुफा ७ बालीगाउँमा गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका स्थानीय ध्रुवराज विष्टको ५ जनाको परिवारमध्ये २ छोराको शव फेला परे पनि ३ जना अझै बेपत्ता छन् ।
खाडाचक्र ८ सेरावाडामा पहिरोले बगाउँदा सुर्खेतमा कार्यरत प्रहरी जवान पदम रावत, तिलागुफा ६ भैंसेगाैडाकी ८० वर्षीया लालका शाही र तिलागुफा ७ बाली बजारमा काम गर्दै आएका भारतीय नागरिक अब्दुल बटु बेपत्ता छन् । पहिरोमा पुरिएका सान्नीत्रिवेणी ८ का १६ वर्षीय केबल केसी (कमल), पचालझरना ७ का ४७ वर्षीय परिलाल बोहोराको शव भेटिएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।
राचुलीका स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको शनिबार घरमै मृत्यु भएपछि आइतबार मलामी गएकाहरु तिलानदीको किनारामा दागबत्ती दिँदै गर्दा एक्कासी माथिबाट पहिरो आएपछि बेपत्ता भएको तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए । ‘दुखद घटना भयो’ उनले भने ‘मलामी गएकाहरु पहिरोमै परे ।’
प्रहरी प्रमुख रिमालकाअनुसार मलामी गएर पहिरोमा परी बेपत्ता हुनेहरुमा तिलागुफा नगरपालिका ४ का ५६ वर्षीय वडाध्यक्ष परबहादुर शाही, सोही वडाका २३ वर्षीय प्रशान्त शाही, २४ वर्षीय नरेश शाही, ४१ वर्षीय मोतिलाल शाही, ५७ वर्षीय मानवहादुर शाही, २३ वर्षीय खेमराज शाही, ७६ वर्षीय बलिबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, २३ वर्षीय भेषवहादुर शाही, २८ वर्षीय खगेन्द्र शाही, ३६ वर्षीय छत्रजंग शाही, ६३ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही छन् । स्थानीय र प्रहरीले पहिरो वरिपरि खोजी गरे पनि बेपत्ता नभेटिएको स्थानीय कमलबहादुर शाहीले बताए ।
प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार २०:१५