वर्षातमा अवरुद्ध बनेका सडक मर्मतसम्भार नहुँदा सल्यानका ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती भोग्दै आइरहेका छन्।
नेपालीहरूको ठूलो चाड बडादशैं प्रवेश गरी सक्दासमेत सडक मर्मत नहुँदा बढी मात्रामा बिरामी, महिला तथा वृद्धवृद्धा मारमा परेका छन्।
थारमारे वडागाउँ रागेचौर चौरजहारी सडकखण्ड अवरुद्ध भएको ५ महिनाभन्दा बढी भइसक्दासमेत सम्बन्धित निकायले सडक सञ्चालनमा ल्याउन ध्यान नदिँदा कुमाख गाउँपालिका, रुकुम पश्चिम र जाजरकोटका यात्रु हिँड्न बाध्य हुँदै आइरहेका छन्।
थारमारे, वडागाउँ, रागेचौर चौरजहारी सडकखण्डको वडागाउँदेखि रोगचौरसम्मको करिब १० किलोमिटर सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न अत्यन्त सकस भएको छ।
सडक मर्मत नहुँदा सदरमुकाम तथा जिल्लाबाहिर जाउजाउमा समस्या हुने गरेको कुमाख गाउँपालिका-३ रागेचौरका भुवनेश्वर शर्माले बताउनुभयो।
सडक बन्द भएको ५ महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै पनि निकायले सडक सञ्चालन गर्नतर्फ ध्यान नदिएको उहाँको भनाई छ।
सडक बन्द हुँदा गर्भवती र बिरामी अस्पताल लैजान झनै समस्या भएको अर्का स्थानीय शंकर शर्माले बताउनुभयो।
पटक पटक सडक मर्मत गरे पनि वर्षाको पानीले सबै बगाएर लैजाने भएकाले समस्या भइरहेको कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको भनाई छ।
वर्षा रोकिनासाथ सडक मर्मत गरी यातायात सञ्चालनमा आउने उहाँले बताउनुभयो।
प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलवार ०६:३१