असोज ९, सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेको बताएका छन।
दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएका बेला सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित गरिरहेको छ।सरकारी स्वामित्वको कम्पनीले बिक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनाका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो।
वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताउनुभयो।उहाँले एक बोरा चामलमै सात सय सस्तो पर्नु धेरै सहुलियत भएको भन्दै सरकारले यस्तो पसल सधैँ सञ्चालन गरिदिए सहज हुने बताउनुभयो।
उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ। कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको बताउनुभयो।यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको बताउनुभयो।
ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको उहाँको भनार्इ छ।न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरुले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ छ।सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन्।
पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल बिक्रीका लागि राखिएको छ।
कम्पनीले असोज १ गतेदेखि कर्णालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।सल्यान खाद्यान्नमा आत्मनिर्भर भएकाले त्यहाँ कम्पनीको कार्यालय छैन।
सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लाका डिपोमा यस्ता पसल सञ्चालनमा छन्।
प्रकाशित मिति: ९ आश्विन २०७९, आईतवार ०८:२१