सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)मा स्तरोन्नतिका गर्ने तयारी गरेको छ । कर्णालीमा आवश्यक चिकित्सक आफै उत्पादन गर्ने उद्देश्यले सरकारले अस्पतालाई प्रतिष्ठानमा स्तरोन्नति गर्न लागेको हो । प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने उद्देश्यले आइतबार स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले कर्णालीको आवश्यकता र औचित्यका पुष्टि गरेर मात्रै अस्पताललाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने सरकारलाई सुझाव दिए । अबको ५ बर्षभित्र उत्पादित विशेषज्ञ चिकित्सक नेपालले धान्न नसक्ने बताउँदै उनले एमबीबीएस अध्ययनलाई फेसनको रुपमा नलिन सुझाव दिए । कोइरालाले अस्पताललाई प्रतिष्ठान बनाउनुअघि कर्णालीमा नयाँ प्रतिष्ठानको आवश्यकता, औचित्य, दीर्घकालीन व्यवस्थापनका लागि उच्चस्तरिय समिति गठन गर्न र सोही आधारमा अगाडि बढ्न पर्ने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा अर्जुन कार्कीले एकजना व्यक्तिले आँट्दैमा प्रतिष्ठान चलाउन सम्भव नहुने बताए । ‘प्रतिष्ठान सञ्चालन गर्नु गरुङ्गो भारी उचाले सरह हो, एकजनाको इच्छा शक्ति मात्रै प्रतिष्ठान छल्दैन’ उनले भने, ‘प्रतिष्ठान चलाउनका लागि सामूहिक प्रतिबद्धता र भावनात्मक एकता चाहिन्छ ।’ प्रदेश सरकारले प्रतिष्ठान सञ्चालन गर्दा राजनीतिक शिकार बन्न नदिने गरी विद्ययेक बनाउन सुझाव दिए ।
त्यस्तै कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका पूर्व डिन मोदनाथ मराठाले विरामीको चाप र भौतिक पूर्वाधारका हिसावले नयाँ शैक्षिक शस्त्रदेखि अध्ययन÷अध्यापन गर्न सकिने बताए । जसका लागि अहिलेदेखि नै पाठ्यक्रम निर्माण, आर्थिक स्रोतको सुनिश्चितता र शैक्षिक वातावरण तयार सुझाव दिए । वरिष्ठ स्वास्थ विज्ञ प्राडा रमेशनाथ अधिकारीले अस्पतालले विरामीको उपचारमात्रै नभई अनुसन्धान गर्नका लागि चिकित्सका शिक्षा सुरु गर्न सुझाव दिए ।
अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न संकाय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानको रुपमा विकास गर्न सकिने बताए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले प्रदेश सरकारले चालू आवमा अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन रु. ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको बताए । बजेटबाट अस्पतालको समग्र स्तरोन्नति गरेर प्रतिष्ठान बनाउने बताए ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले अस्पताललाई प्रतिष्ठान बनाउनु सरकारको रहर नभई बाध्यता भएको बताए । ‘प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने सरकारको रहर होइन, यो हाम्रो बाध्यता हो’ उनले भने, ‘कर्णालीका १७ लाख नागरिकलाई स्वास्थ्य सेवा दिन अस्पतललाई प्रतिष्ठान बनाउन थालेका हौँ ।’
प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार ००:०१