कर्णाली प्रदेशको डोल्पामा पहिलो पटक डेंगुको संक्रमण देखिएको छ।
कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट लगायतका जिल्लामा डेंगुका विरामी देखिएपनि हिमाली जिल्लामा भने डेंगु फेला परेको थिएन।यो संगै कर्णालीका सात जिल्लामा डेंगुको संक्रमण फैलिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश निर्देशनालय सुर्खेतका भेक्टर नियन्त्रण अधिकृत श्यामलाल आचार्याले कर्णाली पनि डेंगुरोगको उच्च जोखिममा रहेको बताउनुभयो।डेंगु रोगको खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसको नियन्त्रणको मुख्य उपाय खोज र नष्ट गर्नु नै रहेको छ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको हो।जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा १०५ जना डेंगु रोगका विरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेको बताउनुभयो।
उहाँका अनुसार यो तथ्यांकबाट नै वीरेन्द्रनगर डेंगुको उच्च जोखिममा रहेको पाइएको छ। अघिल्लो वर्ष सुर्खेतका १२८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका ७९८ जनामा वीरेन्द्रनगरका मात्रै ७३९ जना डेंगुका विरामी फेला परेका थिए।वीरेन्द्रनगरका १६ वटा वडामध्ये सवैभन्दा धेरै विरामी वडा नं. ४ मा रहेका छन।
वडा नं. ४ मा १५ जना, वडा नं. ३ मा १४ जना, वडा नं. २ मा १० जना र वडा नं. ६ र ७ मा सात÷सात जना विरामी फेला परेको जानकारी गिरीले दिनुभयो।डेंगु रोग विरुद्ध खोप पनि नभ्एको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु रहेको उहाँले बताउनुभयो। डेंगु विरामीलाई अत्यधिक ज्वरो आउने भएकोले सिटामोल बाहेक अन्य औषधि प्रयोग गर्न नहुने सुझाव दिदैं उहाँले दिउँसोमात्र टोक्ने लामखुट्टेलाई नष्ट गर्नु नै उत्तम विकल्प भएको जनाउनुभयो।
यता वीरेन्द्रनगरमा डेंगु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझाव मागेको छ।नगरपालिकालाई सरसफाईमा जोड दिन, यसबाट बच्ने उपायहरु घरघरमा पुयाउन सुझाव दिएका छन्।लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने, पानी जम्न नदिने, सातामा दुई पटक ट्यांकीलगायतमा जमेको पानी फाल्ने, पूरा बाहुला भएको कपडा लाउने, सुत्दा झुल प्रयोग गर्न नगरबासीलाई प्रेरित गर्नुपर्ने उनीहरुको भनाइ छ।
यस कार्यमा नगरभित्रका सवै टोल विकास समिति, आमा समूह, विद्यालय, निजी क्षेत्रलगायत सरोकारवाला सवैलाई सचेतना जगाई परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले डेंगु रोग नियन्त्रणका लागि जनचेतना नै उत्तम विकल्प भएको बताउनुभयो।यस्तो बेला ज्वरो बढी आउने हुँदा सिटामोल पर्याप्त रहेको जानकारी दिदैं उहाँले थप जोखिम आउन नदिन सवै क्षेत्र परिचालन हुनुपर्ने उल्लेख गर्नुभयो।
वीरेन्द्रनगर नगरपालिकका उपप्रमुख निलकण्ठ खनालले टोल विकास समितिलाई व्यापक परिचालन गरी माइकिङसहित सरसफाई अभियान थालेर पानी जम्न दिन आव्हान गर्नुपर्ने बताउनुभयो।वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लामखुट्टे नियन्त्रणमा खोज र नष्ट गर्ने अभियानका साथै सवै वडामा एकै पटक सरसफाई कार्यक्रम संचालन गर्ने जनाउनुभयो।
प्रकाशित मिति: २४ भाद्र २०७९, शुक्रबार २०:२३