मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सल्यान दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेका छन् ।आकांक्षी धेरै भएका र एकले गरेको सिफारिस अर्का गुटलाई चित्त नबुझेपछि जिल्ला कमिटीको छुट्टाछुट्टै बैठकले नाम सिफारिस गरेका हुन् ।प्रदेश र संघ निर्वाचनका लागि नाम सिफारिस गर्ने क्रममा सभापति केशबहादुर विष्ट, उपाध्यक्षलगायतको एक टिम र उपाध्यक्ष चक्र देवकोटाको अर्को टिम रहेको छ ।
विधानअनुसार प्रदेशले देवकोटाको टिमलाई उम्मेदवार छनौट गर्ने जिम्मेवारी दिएको थियो ।उपाध्यक्ष देवकोटाको टिमबाट संघीय सांसदका लागि प्रत्यक्षतर्फ राजेन्द्रबहादुर शाह, ध्रुवराज पुरी, दिलमान चन्द, समानुपातिकमा डिल्लीराज रेग्मी, गणेश चन्दलगायत २४ को नाम सिफारिस भएको छ ।यस्तै प्रदेश क मा प्रत्यक्षतर्फ यकराज बुढाथोकी, एकराज डाँगी, नेत्रलाल ओली, सुरेश चन्द तथा समानुपातिकमा आइतुराम ओली, गोरख केसीलगायत १३ जनाको नाम सिफारिस गरिएको छ ।
सभापति विष्ट र उपाध्यक्ष सन्तोष केसीको टिमबाट संघीय सांसद उम्मेदवारमा केशबहादुर विष्ट, प्रदेश ख मा सन्तोष केसीको एकल नाम सिफारिस गरेको छ ।
संघीय सांसदको समानुपातिकमा महेश मल्ल, ध्रुव मल्ल्लगायत ८ जनाको नाम सिफारिस गरिएको छ ।विधानअनुसार प्रदेशले नाम सिफारिस गर्ने जिम्मेवारी आफूहरुलाई दिएकाले सभापति केशवहादुर विष्टलगायतको बसेको बैठकले गरेको सिफारिस अवैधानिक रहेको उपाध्यक्ष चक्र देवकोटाले बताउनुभयो ।
प्रदेशले निर्देशन गरेको कुरालाई सभापतिले अस्वीकार गर्न मिल्दैन र जिम्मेवारी पाएको टिमले गरेको निर्णयलाई काट्न मिल्दैन,’ उनले भने, ‘सभापतिले मनपरी गर्नुभयो । यो निर्णय वैधानिक छैन ।’
आफुले पठाएको सिफारिसलाइ कर्णाली प्रदेश कार्यसमिति समक्ष पठाइएको उनले बताए ।
प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार ०८:२०