सुर्खेत भदौ १६- भेरी लिफ्ट खानेपानी आयोजना निमार्णकालागि वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच आयोजना संचालन सहभागीता सम्झौता भएको छ।
देशकै वृहत् खानेपानी आयोजना अन्तरगत रहेको यो आयोजनाले वीरेन्द्रनगरको खानेपानी समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ।खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल र प्रदेश जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव देवराज निरौंलाको रोहवरमा नगर प्रमुख मोहनमाया ढकाल र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी ल्यार्इ रिजर्भसन ट्याङ्कीबाट मुख्य लाइनमार्फत पानी वितरण गर्ने योजना छ।वीरेन्द्रनगरका प्रमुख प्रशासकिय अधिकृत नरहरि तिवारीले आयोजना छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनु भयो ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ भने अझैं करिब १८ हजारबढी घरधुरीलाई खानेपानी धारा अपुग रहेको संस्थाले जनाएको छ ।
सुर्खेत उपत्यकामा भेरीको पानी ल्याउन यसअघि सङ्घीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आए पनि रकम खर्च हुन सकेको छैन ।प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी मुख्य समस्याको रुपमा रहेको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आएने भएको हो।भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच यसअघि पनि त्रिपक्षीय समझदारीपत्र एमओयू मा हस्ताक्षर भएको थियो।आयोजनाकालागि ८० प्रतिशत सङ्घीय सरकार, २० प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ।
भेरी लिफ्टिङ आयोजनाको डिपिआर बनिसकेको छ ।विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणकालागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो ।
वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आँकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको सरकारी दाबी छ ।हाल आयोजनाको विस्तृत इञ्जिनीयरिङ डिजाइन तथा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी अध्ययन कार्य भइरहेका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०७९, बिहीबार १६:२९