सुर्खेत भदौ १६, कर्णालीका ११ प्रतिशत नागरिकमात्र बिमाको पहुँचमा रहेका सरकारी तथाङक रहेको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन कार्यक्रममा यस्तो तथाङक सार्वजनिक भएको हो। कर्णालीका झन्डै ८९ प्रतिशत नागरिकहरु अझै पनि विमाको पहुँच भन्दा बाहिर रहेको छन।
बिमा गरेकाले पनि कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो गरेका छन।यसैबीच अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिनुभएको छ।कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो।
अर्थमन्त्री शर्माले बिमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बिमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने बताउनुभयो।
कर्णालीका सबै पालिकामा अनिवार्य पुग्ने गरी कार्यक्रम बनाउनु अर्थमन्त्री शर्माले आग्रह गर्नुभयो।सरकारले नयाँ विधेयकमा बिमा प्राधिकरण, बिमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेकाले जनशक्ति व्यवस्थापनका लागि पनि छुट्टै कलेजको आवश्यकता छ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बिमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो।आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह आचार्यले गरिब परिवारहरु बिमाको पहुँच बाहिर रहेकाले बिमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिनुभयो।
बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बिमा व्यवसायलाई विविधिकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
प्रकाशित मिति: १६ भाद्र २०७९, बिहीबार १६:१८