साउन १७, आज नागपञ्चमी घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै रहिआएको हो।
वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ।
नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक बिश्वास रही आएको छ।
घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनबिश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको छ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ।
शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको छ।
यसैबीच कर्णाली प्रदेशमा श्रावण शुक्ल पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारको २०७८ चैत्र २९ गतेको मन्त्रिपरिषद् निर्णयले यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
त्यही निर्णय अनुसार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक सूचना जारी गरी प्रदेशमा रहेका सरकारी तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा हुने जनाएको छ ।
कर्णाली सरकारले यो वर्ष राष्ट्रियबाहेक थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रदेशको राजपत्रमा प्रकाशित विवरण अनुसार चैत १२ गते जुम्लामा मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवस र साउन १ गते देउडा पर्वको बिदा दिइएको छ । त्यस्तै, साउन १७ मा नागपञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, असोज २३ गते शुक्ल कोजाग्रत पूर्णिमा, चैत १६ गते चैत्र शुक्ल नवमी रामनवमी का दिन प्रदेशभर सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलवार ०७:२७