नेपालमा बाघको सङ्ख्या बढेको छ।
सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन।
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको सङ्ख्या ३ सय ५५ पुगेको बताउनुभयो।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ बाघ छन।
बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३८ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको तथ्याङ्कमा उल्लेख छ।
पछिल्लो पटक नेपालमा गएको मंसिरदेखि फागुनसम्म बाघ गणना भएको थियो।
सन् २००९ मा भएको गणना अनुसार नेपालमा बाघको सङ्ख्या १ सय २१ थियो।
सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ भित्र नेपालमा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो।
तर यसअवधिमा बाघको सङ्ख्या दोब्बरभन्दा पनि धेरैले बढेको छ।
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ।
प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ।
आहारा र बासस्थानको कमीका कारण निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षति बढेको छ।
प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार १५:५६