प्रदेश राजधानी वीरेन्द्रनगरको भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरिने हुने भएको छ।
आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको प्रोजेक्ट भएकाले विस्तृत परियोजना प्रतिवेदन डिपिआर हेरफेरका लागि विज्ञहरुसँग परामर्श गर्ने जनाएको छ।
दुई चरणमा गरी छ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डिपिआर तयार भइसकेको छ।
विभागका सिनियर डिभिजनल इञ्जिनीयर सिडिइ मधु खनालले डिजाइन पुनःसशोधनका लागि कम्तीमा दुई÷तीन महिना समय लाग्ने बताउनुभयो।
आयोजना कार्यान्वयनको प्रारम्भमा भेरी नदी किनारमा इन्टेक निर्माण गर्न बोलपत्र आह्वान गरिने भएको छ।
खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आर्थिक २०७९÷८० देखि सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दैछ।
आयोजनाअन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो।
आयोजनाका लागि सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड छुट्याएको छ भने नगरपालिकाले पहुँचमार्ग निर्माणलगायत आवश्यक पूर्वाधारका कार्यका लागि ५० लाख विनियोजन गरेको छ।
यस्तै भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन।
तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान छ।
दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ।
यस लागि कम्तीमा पनि तीन अर्ब लागत अनुमान गरिएको छ।
पाँच सय ५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म जडान गरिने छ।
वीरेन्द्रनगरमा अत्यधिक बढ्दो जनघनत्वका कारण यहाँ खानेपानी मुख्य समस्याका रुपमा लामो समयदेखि रहँदै आएको छ।
खानेपानी आपूर्ति व्यवस्थापन गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ।
संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ।
अझैं यहाँ १८ हजार बढी खानेपानी धारा अपुग छन्।
संस्थाले झुप्रा खोला, खरी खोला, खोर्के खोला, इत्राम खोलाबाट खानेपानी वितरण गरिरहेको छ।
तीस वर्षपछि वृद्धि हुने जनसङ्ख्यालाई खानेपानीको हालको संरचना र क्षमताले धान्न नसक्ने हुँदा दीगो आयोजनाका लागि विभिन्न अध्ययन अघि बढाइएको थियो।
नगर प्रमुख मोहनमाया ढकालले आयोजनालाई समयमै सम्पन्न गर्न नगरपालिकाको पूर्ण सहयोग र सहभागिता रहने बताउनुभयो।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बहुप्रतिक्षित आयोजना सञ्चालनमा अब ढिलाइ गर्न नहुने गरी काम थाल्न आफूहरुले सुझाव दिएको बताउनुभयो।
भेरी पम्पिङकै लागि भनेर सङ्घ र प्रदेश सरकारले छुट्याएको बजेट यसअघि बर्सेनि फिर्ता हुने गरेको थियो।
प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार १७:०५