साउन २, हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै रहेको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा दुई पटक सूचना प्रकाशित गरेपनि आवेदन परेन।
कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले ६० लाख विनियोजन गरेको छ।
काञ्जिरोवा हिमाल चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा बजेट फिर्ता भएको छ।
मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा पुनः यो कार्यक्रमलाई निरन्तरता दिएको छ। मन्त्रालयका सचिव मोहनदेव जोशीले सगरमाथा लगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐन अनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता द्धिविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताउनुभयो।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइँमा छ।
डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र पर्दछ।
मन्त्रालयले नेपालका आठ हजार मिटरभन्दा अग्ला उचाइँका हिमाल चढेको, हिमाल आरोहणको तालिम लिएको र स्वस्थ हुनुपर्ने लगायतका मापदण्ड तोकेको थियो। त्यस्त, आरोहण दलले कम्तीमा आठ घण्टाको वृत्तचित्र निर्माण गर्नुपर्ने, १०० वटा फोटोग्राफी, १० वडा भिडियो, एक वर्षसम्म आरोहीले फेसबुक, इन्स्ट्राग्राम पेजमार्फत मन्त्रालयलाई मेन्सन गर्नुपर्ने शर्त राखेको थियो।
चालु आर्थिक वर्षमा यो कार्यक्रम सफल बनाएर कर्णाली हिमाल आरोहणलाई उपयुक्त छ भन्ने सन्देश दिन खोजिएको सचिव जोशीको भनाइ छ।
प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार १५:४१