साउन १, जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेको पुल निर्माण नहुँदै चर्किएको छ।
ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएको हे।
परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएको बताउनुभयो।
२०७४ साल कात्तिक ३० गते सम्झौता गरिएको पुलको निर्माणकार्य २०७५ साल चैत १४ गते सम्पन्न गरिसक्नुपर्ने थियो।
तर, सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि अहिलेसम्म तीन पटक म्याद थपिसकेको छ।
अहिले पुलको काम रोकिएको छ भने छिडेनाको पुलको भने निर्माणकार्य सम्पन्न भइसकेको छ।
चर्किएको पुल निर्माणका लागि साउनको पहिलो हप्ता जुम्लामा भारतबाट इन्जिनियरको टोली जाने भएको छ।
यो पुलमा अब दशैँ सम्ममा गाडी गुड्ने कम्पनीले जनाएको छ।
सिंजाखोला पुलको लम्बाई ४० मिटर र चौडाई ११ मिटर छ भने ५० टन भार धान्न सक्ने बताइएको छ।
यस ठाउँमा लामो समयअघि निर्माण भएको बेलिब्रिज पुल पनि जीर्ण भइसकेको छ। जीर्ण बेलिब्रिज पुलबाट यात्रा गर्दा जोखिम भएको भन्दै चाँडै पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुलको अनुगमन गर्नुभएको छ।
उहाँले पुलको विषयमा सम्बन्धित निकायमा बुझ्ने र चाँडै काम सञ्चालनमा ल्याउन समन्वय गर्ने बताउनुभयो ।
प्रकाशित मिति: १ श्रावण २०७९, आईतवार १५:३७