कर्णाली प्रदेश सभामा पेस भएको विधेयक पारित नभएको भन्दै कर्णाली प्रदेश सभा अगाडि विधेयक ऐक्यवद्धता कार्यक्रम गरिएको छ । प्रदेश सभामा पेस भएका तीन वटा विधेयक पारित नभएको भन्दै विधेयक सरोकार समाजले ऐक्यवद्धता कार्यक्रम गरेको हो ।
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र कर्णाली नवप्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक अविलम्ब पारित गर्न दबाब दिँदै उक्त प्रदेश सभा अगाडि प्रदर्शन गरिएको सांसद नरेश भण्डारीले बताए । उनका अनुसार कन्कासुन्दरी गाउँपालिका सिंजा जुम्लामा पनि ऐक्यवद्धता कार्यक्रम गरिएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका नरेश भण्डारीको नेतृत्वमा ऐक्यवद्धता कार्यक्रम भएको हो ।
गत वर्ष वैशाख १३ गते पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक तत्कालीन सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सभामा पेस गरेका थिए । गत वर्ष माघ २३ गते दफावार छलफलका लागि समितिमा पठाइएको उक्त विधेयक पारित हुन सकेको छैन ।
यस्तै, गत वर्ष माघ २४ गते तत्कालीन कानुनमन्त्री नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा प्रदेश सभामा पेस गरेको सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक पनि पारित भएको छैन । उक्त विधेयक वर्ष फागुन १८ गते विषयगत समितिमा छलफलका लागि पठाइएको थियो । गत वर्ष पुस २६ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको नवप्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक प्रदेश सभामा पेस नै हुन सकेको छैन ।
बुधबारको प्रदेश सभा वैठकमा पनि सांसद भण्डारीले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकलाई खोसिएको, सिँजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र नवप्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको गुनासो गरे । न्युन साक्षरता भएको कर्णालीमा पर्वतीय विश्वविद्यालय बनाउन नदिन विभिन्न चलखेल भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार २०:१७