कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो ।
औषधालयको विगत तीन वर्षको तथ्याङ्क नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको सङ्ख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६÷७७ मा २८ हजार ३५५ र आव २०७७÷७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएकामा आव २०७८÷७९ मा ४० हजार ८५ जनाले सेवा लिएका औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले राससलाई बताउनुभयो ।
“चालु आवमा १० हजार बढी सेवाग्रहीले यहाँबाट सेवा लिएका छन्,” उहाँले भन्नुभयो, “पछिल्लो समयमा आयुर्वेदिक चिकित्साले धेरैको ध्यान खिचेको छ । यो सकरात्मक पक्ष हो ।” प्रमुख डा. रिजालले आर्थिक वर्ष २०७८÷७९ मा २२ हजार ७४९ले साधारण उपचार, छ हजार ५०५ले पञ्चकर्म, २५०जनले स्तनपायी आमा सेवा लिएको बताउनुभयो ।
यस्तै सात हजार ४१२ ज्येष्ठ नागरिक र एक हजार ५१८ अन्य बिरामीले निःशुल्क सेवा लिएका थिए । त्यस्तै एक हजार ६०१ गाउँघर क्लिनिक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरी प्रदेश औषधालयबाट चालु आवमा कूल ४० हजार ८६ जनाले सेवा लिएका छन् । चौवालिस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयले बहिरङग, प्रयोगशाला, क्षारसुत्र सेवा, पूर्वकर्म÷पञ्चकर्म सेवा, स्तन्यवद्र्धक औषधि वितरण र ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धन कार्यक्रम पनि गर्दै आएको छ ।
उहाँका अनुसार स्वस्थ जीवनका लागि दैनिक योग, ध्यान, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, शःशुल्क फार्मेसी सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आयुर्वेद जडीबुटीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो। आगामी आवदेखि अकुपञ्चर र फिजियोथेरापी सेवा पनि विस्तार गर्ने योजना रहेको प्रमुख डा रिजालले बताउनुभयो ।
यस्तै दरबन्दी अनुसारका जनशक्ती नहुदाँ प्रदेश आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या देखिएको छ।आयुर्वेद सेवामा नागरिकहरूको आकर्षण बढ्दै गएको भएपनि प्रयाप्त मात्रामा जनशक्ती नुहदाँ सेवादिन समस्या भएको जनार्इएको छ।४२ जनाको जनशक्ती आवश्यक रहेको औषधालयमा अहिले ८ जना दरवन्दीका र अरु कार्यालय सहयोगी र करारका कर्मचारी रहेका छन।
कर्मचारी अभाव रहेको जानकारी पटकपटक प्रदेश सरकारसँग गरे पनि सुनुवाइ नभएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकर रिजालले बताउनुभयो।
प्रकाशित मिति: २८ असार २०७९, मंगलवार १७:४७