बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो ।
यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।
बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा एमालेले जितेको छ । तीन वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
बुढीगंगा नगरपालिकामा ०७४ को निर्वाचन भन्दा वडामा पनि फरक नजिता देखिएको छ ।
यसपटक ७ वटा वडाका वडाध्यक्षहरु एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गएको निर्वाचनमा कांग्रेसले वडा नं. १, ४, ७ र ८ गरी ४ वडामा जित हासिल गरेको थियो ।
यस पटक कांग्रेसबाट एमालेले वडा नम्बर १ को नेतृत्व खोस्न सकेको छ ।
बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न गएको बिहीवार पुनः मतदान भएको थियो ।
गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो ।
प्रकाशित मिति: २६ असार २०७९, आईतवार १६:१४