मुगु । नेपाली कांग्रेस मुगुका निवर्तमान सभापति खडगबहादुर शाहीले बस दुर्घटनाका मृतक तथा घाईतेका परिवारलाई राहत स्वरुप रकम प्रदान गर्नु भएको छ । बुधबार गमगढी स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बस दुर्घटनाका ३३ जना मृतक तथा १२ जना घाईतेका परिवारलाई जनही रु ५ हजारका दरले नगद रकम उपलब्ध गराउनु भएको हो ।
राहत बितरण कार्यक्रममा बोल्दै निवर्तमान सभापति शाहीले असोज १६ गते भएको अप्रत्यासित बस दुर्घटनाले आफु सारै दुखी भएको बताउनु भयो । आफुले खाईनखाई गरेर भएपनि पिडामा रहेका परिवारजनलाई थोरै भए पनि आँसु पुछ्ने कामको लागि आफुले सहयोग गरेको बताउनु भयो । उहाँले हरेक बिपतीहरुमा आफु पिडित जनताको पक्षमा रहने गरेको समेत बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै पुर्व शिक्षा राज्यमंत्री हस्त बहादुर मल्लले थोरै भएपनि ब्यतिmगत रुपमा राहत प्रदान गरेकोमा धन्यवाद दिदै पिडित परिवारले अन्य बिभिन्न दातृ निकायहरुबाट पनि राहत पाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो । छाँयानाथरारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले घट्नाको भोलिपल्टै बिदाको दिन भएपनि घट्नाका पिडित परिवारलाई जनही ५० हजारका दरले नगरपालिकाले राहात रकम प्रदान गरेको बताउनु भयो ।
नेपालगन्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६९ नम्वरको यात्रु वाहक बस पिना गाउँ नजिक तपने खोलाको भिरमा असोज १६ गते दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो भने १२ जना घाईते भएका थिए ।
प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहीबार ११:४३