सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले देशलाई संकटतर्फ लगेको भन्दै संविधान र लोकतन्त्र बचाउने जिम्मेवारी अव फेरी काँग्रेसको काँधमा आइपरेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य थानीले ओली सरकार तानाशाहकै रुपमा यसरी अगाडी बढ्दै गए धेरै दिन टिक्न नस्कने ठोकुवा गर्नुभयो । उहाँले नेकपा सरकारले जनताले दुईतिहाई नजिककाे अभिमतलाई अपमान गरेको भन्दै अब यसको जवाफ नेपाली जनताले निर्वाचन मार्फत दिनुपर्ने उल्लेख गर्नुभयो।
पुर्वमन्त्री समेत रहनु भएका नेताले काँग्रेस निर्बाचनबाट कहिले पनि नडराउने भन्दै आगामी बैशाखमा चुनाब गरेर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपा सत्ताको जित–हारको लडाईका कारण अहिले नेपाली जनताले दुख पाउनुपर्ने अबस्था आएको जिकिर गर्नुभयो । उहाँले कम्युनिष्टले जनताको पक्षमा कहिले पनि काम गर्न नसकेको भन्दै सुर्खेतमा भएका विकास निर्माणका कामहरु काँग्रेसकै नेतृत्वमा भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा पूर्व राज्यमन्त्री खड्कबहादुर बस्यालले संविधानलाई नै हत्या गर्ने गरी ओली सरकारले चालेको कदमको विरुद्धमा आन्दोलन गर्नु परेको बताउनुभयो।
महिला सघकी सभापति पार्वती गिरीकाे सभापतित्वमा भएकाे कार्यक्रममा सहभागी नेताहरुले सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको भन्दै गल्ती गर्नेलाई सरकारले नै संरक्षण दिईरेको बताएका थिए । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गरेका हुन।
नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध सुर्खेत सहित देशभर संयुक्त विरोध प्रर्दशन गरेका छन् । संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्ध भ्रातृ संस्थाले विरोध प्रर्दशन गरेका हुन् ।
स्थानीय मंगलगडी चोकबाट शुरुभएको विरोध प्रर्दशन वीरेन्द्रनगर बजार परिक्रम गरि पिपल चौतारीमा पुगेर सभामा परिणत भएको थियाे । विरोध प्रर्दशनमा सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाए ।
प्रकाशित मिति: १९ माघ २०७७, सोमबार १९:५६