सुर्खेत । सशस्त्र प्रहरी बलले सुर्खेतकाे गुर्भाकोट नगरपालिका १० र ११ घुमखहरे लौरीदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरेकाे छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उक्त कम्बलहरु वितरण गर्नु भएकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे. क्वा. रक्तकाली सुर्खेतको समन्वयमा उक्त बितरण कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल नेपालको कर्णाली प्रदेश स्तरिय प्रस्तावित तालिम शिक्षालय निर्माणको लागि बिस्थापित हुने विपन्न वादी समुदायका १५ घर परिवारलाई प्रति घर एक कम्बल वितरण गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग विजय सुवेदीले बताउनु भयाे ।
कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले विपन्न समुदायलाई सरकारले सुक्ष्म रुपले सकरात्मक दृष्टिकोणले हेरिरहेको हुनाले बिस्थापितहरुको नागरपालिकाले उपयुक्त किसिमले ब्यबस्थापन गर्ने बताउनु भयो । माघको चिसोमा कम्बलले केही हदसम्म न्यानो गराउन सहयाेग पुग्ने उहाँले बताउनु भयो ।
“कम्बल प्राप्त हुँदा हामीलाई सरकारले हेर्दैन भन्ने लग्थ्यो आज हेर्यो” कम्बल प्राप्त गरेपछि लाल बहादुर वादीले आफ्नो खुशी ब्यक्त गर्नुभयाे । स्थानीय वादी अगुवा उजेली वादीले भन्नु भयाे, सशस्त्र प्रहरी हाम्रो गाउँमा आएकोमा हामी खुशी छौ, हाम्रो पूर्ण सहयोग रहने छ ।
सो कार्यक्रममा लेकवेशी नागरपालिका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधीकारी रोम महत, प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्ट, सशस्त्र प्रहरी उपरिक्षक दिग विजय सुवेदी, जनस्वास्थ्य प्रमुख चेतन वाग्लेको सहभागिका रहेकाे थियो । कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गर्नु भएकाे थियाे ।
प्रकाशित मिति: १८ माघ २०७७, आईतवार ११:१३