सुर्खेत । सुर्खेत विमानस्थल धावनमार्ग विस्तारको काम गर्न नदिने यहाँका प्रभावितहरुले अडान राखेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ का धावनमार्ग प्रभावितहरुले दीर्घकालीन विकास नभएको, सयौं परिवार बेघरवार हुने भएकोले विमानस्थल विस्तारको काम अगाडि बढ्न नदिने अडान राखेका हुन् ।
शुक्रवार नागरिक सरोकार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी धावनमार्ग विस्तारको काम अगाडि बढ्न नदिने अडान राखेका छन् । संघर्ष समितिका संयोजक टिकाराम आचार्यले विस्तारका लागि गरिने अधिग्रहणबाट करिव पाँच सय परिवारको उठिबास हुने, दुई वटा विद्यालय, एउटा क्याम्पस, एउटा शहरी स्वास्थ्य कार्यालय, तीन वटा निजी विद्यालय, सहकारी संस्थालगायत खर्बौंको सम्पत्तिको विनाश हुने भएकोले अहिले गर्ने भनिएको धावनमार्ग विस्तारको काम अगाडि बढ्न नदिने बताउनु भयो ।
उहाँले विकास जनताका लागि हुनुपर्ने भन्दै जनतालाई नै उठिबास गराउने कस्तो विकास ल्याउन खोजिएको भन्ने प्रश्न गर्दै ठूला विमानस्थल बनाउनका लागि अन्यत्र जग्गा खोज्न आग्रह गर्नु भयो । विमानस्थल बढाउने नाउँमा खबौंको सम्पत्तिको क्षति हुने, मुआब्जा दिने रकमले नयाँ विमानस्थल बनाउन सकिने भन्दै संयोजक आचार्यले बिकल्प खोज्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
संघर्ष समितिका सदस्य पूर्णप्रसाद पौडेलले आफूहरु विकास विरोधी नभएको हुँदा प्रभावितहरुको सहमति अनुसार नै काम अगाडि बढाउनुपर्नेमा त्यसो नगरिएको उल्लेख गर्नु भयो । उहाँले यदि ठूला जहाज चल्ने विमानस्थल बनाउने भए अन्यत्र स्थान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले जनतालाई डिपे्रशनमा जाने गरी दुःख नदिन आग्रह गर्नु भयो । उहाँले सरकारले प्रभावितहरुको माग सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिएभने वडा नं. १० का वडाअध्यक्ष रत्नबहादुर बुढाले पनि प्रभावितहरुसँग कुनै समन्वय नै नगरेर काम अगाडि बढाएकोमा आपत्ति जनाउनु भयो । उहाँले विकासका कामहरु जनमैत्री हुनुपर्ने भन्दै त्यसका लागि सवै पक्षसँग समन्वय गरेर गर्न आग्रह गर्नुभयो ।
सुर्खेत नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गरी १५ दिनभित्र धावनमार्ग अधिग्रहण हुनसक्ने क्षेत्रमा नयाँ संरचना बनाउन, जग्गा खरिद विक्री गर्न, हक हस्तान्तरण गर्न, धितो बन्धकलगायतका कुनैपनि कार्य सिफारिस नगर्न आग्रह गरेको छ । प्रभावित क्षेत्र वीरेन्द्रनगर १० र १२ को विमानस्थलको उत्तरतर्फ छ सय मीटर, दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मीटर क्षेत्रमा लगत संकलन प्राविधिकहरु खटिएको कार्यालय प्रमुख उमेशकुमार पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: १० पुष २०७७, शुक्रबार १८:४५