मुगु । जिल्ला बाहिर रहेका स्थानीय तथा अन्य व्यक्तिहरु मुगु जिल्लामा प्रवेश गर्दा अनिवार्य पीसीआर रिर्पोट भएको हुनुपर्नेछ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको विषेश बैठकले शुक्रबारबाट लागु हुनेगरि जिल्ला प्रवेशमा पीसीआर रिर्पोट अनिवार्य गरेको हो ।
जिल्ला शुन्य संक्रमित रहेका बेला बाहिर जिल्लाहरुबाट प्रवेश गर्नेहरुले कोरोना संक्रमण फैलाउन सक्ने भन्दै बैठकले हवाई, स्थलगत र पैदलबाट मुगु प्रवेश गर्ने व्यक्तिहरुको अनिवार्य ७२ घण्टा भित्रको पीसीआर नेगेटिप आएकोे रिर्पोट पत्र हुनुपर्ने अन्यथा नाकाबाटै जिल्ला प्रवेश गर्न नदिई फकाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहितको टोली जिल्ला भ्रमणमा मुगु पुगेका बेला उहाँ कै प्रमुख आथित्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, प्रदेश सांसद चन्द्र बहादुर शाहीको उपस्थिति रहेको थियो ।
जिल्ला प्रवेशमा पीसीआर नेगेटिप रिर्पोट अनिवार्य गरेपछि जिल्ला बाहिर रहेका स्थानीय मर्कामा परेको बताउने गरेका छन् । उनीहरुले जिल्ला मै पीसीआर परीक्षणको व्यवस्था गर्नु पर्ने बताउने गरेका छन् ।
हालसम्म जिल्लामा २६७५ जनाको स्वाव संकलन गरि परीक्षण गरिएकोमा ४ जनामा कोरोना संक्रमण देखिएको र चारै जनाले कोरोनालाई जितेर घर फर्किसक्नु भएको पनि प्रजिअ निरौलाले बैठकमा जानकारी गराउनु भएको थियो ।
प्रदेश सरकारबाट प्राप्त ५० लाख आर्थिक सहयोग मध्ये २६ लाख खर्च भएको र २४ लाख आकस्मिक खर्चको लागि मौजाद राखेको, आर्थिक सहयोगका लागि संघ र प्रदेशमा अनुरोध गरेपनि सुनुवाई भने नभएको, सबै पक्षको सहयोग र सक्रियताले जिल्लामा कोरोना संक्रमित शुन्य रहन गएको, सोरु र मुगुम कार्मारोङ्क गाउँपालिकामा चिकित्सक नहुँदा समस्या हुने गरेको जतिसक्दो छिटो चिकित्सकको व्यवस्था हुनु पर्ने माग प्रदेश सरकारसंग प्रजिअ निरौलाले गर्नु भएको थियो ।
विहीबारै जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गदै नेपाल सरकार मन्त्री परिषद्को बैठकको मिति २०७७ भदौ २९ गतेको निर्णय प्रभावकारी कार्यान्वयन गर्न गराउन अनुरोध गरेको छ ।
सार्वजनिक यातायातका साधन संचालनमा स्वास्थ्य सुरक्षाका विधि अपनाउन र बाहिरी जिल्लाबाट मुगु भित्रने यात्रुहरुको अनिवार्य ७२ घण्टा भित्रको पीसीआर नेगेटिप रिर्पोट माग्न पनि सूचनामा भनिएको छ ।
प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार ०८:४२