मुगु । कोरोना कहरका विच मुगुमा सडक सुधारको कामले तिव्रता पाएको छ । कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डको स्तरउन्ती गर्न सडक डिभिजन कार्यालय जुम्लाले कोरोनाको कहरलाई वास्ता नगरि सुरक्षा मापदण्ड अपनाउदै यो खण्डमा धमाधम काम गरिरहेको हो ।
सडक संचालनमा आएको एक दशक भन्दा बढी समय भैसक्दापनि सडकको मापदण्ड अनुसारका संरचना नबन्दा यो सडकमा यात्रुले मात्र होइन सवारी साधनले सधै सास्ती भोग्दै आएका छन् ।
सडक सुधार गरि नाग्म देखि गमगढीसम्म यातायातका साधन नियमित सुचारु गर्न आर्थिक वर्ष ०७६/०७७ बाट १५ देखि २० किमी दुरीमा काम गर्ने गरि ६ खण्डमा ठेक्का खोलेर सोहि अनुसार सडकलाई दुई लेन बनाउने, साईटवाल लगाउने, ग्राभेल गर्ने, नाला बनाउने जस्ता काम भइरहेका छन् । गत आर्थिक वर्षमा नाग्म गमगढी सडकको ग्राभेल, स्तरवृद्धिका लागि १४ करोड विनियोजन भएकोमा ९ करोड ४८ लाख खर्च भएको थियो ।
विगतमा ९३ किमीको यो सडक स्तरउन्नती नहुँदा वर्षामा पानी, हिउँदमा हिउँ र घाम लागे धुलाम्य भएर सडक अवरुद्ध भैरहन्थ्यो । सडक अवरुद्ध हुँदा वर्षभरीमा ४ महिना मात्र सडक संचालनमा आउने गरेको थियो ।
सधै सडक अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य तथा निर्माण सामग्रीको अभाव भैरहने अवस्था रहदै आएको छ । जिल्लामा समय मै निर्माण सामग्री उपलब्ध नहुँदा विभिन्न निकायबाट सम्पन्न गर्नु पर्ने विकास निर्माणका काम प्र्रभावित भै लक्ष्य प्राप्त हुन सकेको थिएन ।
निर्माण व्यावसायीले आफ्नो जिम्मामा पाएका काम गर्न सुरक्षा विधि अपनाएर समयावधिमा नै सम्पन्न गर्न कार्यालयले दवाव दिईरहेको र सोहि अनुसार यो खण्डमा धामाधम काम भैरहेको सडक डिभिजन कार्यालय जुम्लामा प्रमुख लिला बहादुर भण्डारी बताउँनुहुन्छ । उहाँले भन्नुहुन्छ, ‘लक्ष्य अनुसार चालु आर्थिक वर्ष भित्रमा नाग्म देखि रारासम्म सवारी साधन फिलिलि गरि संचालन गर्ने र कम्तिमा वर्षभरी सडक संचालनमा ल्यानु हो र सोहि अनुसार काम भैरहेको छ ।’
वर्षेनी हजारौको संख्यामा नेपाल कै ठुलो ताल रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक स्थलमार्ग भएर रारा आउँदा कर्णाली राजमार्गमा भोग्नु पर्ने कठिनाईले गर्दा फर्केर घर पुगेपछि मुत्युलाई जितेर आएको जस्तो महशुस भएको बताउने गरेका थिए ।
भारत र चिन समेत जोडेन त्रिदेशिय सडक मार्ग जमुनाह–सुर्खेत–गमगढी–नाग्चेलाग्ना सडक पनि यहि राजमार्ग भएर जाने भएकाले सडक स्तरउन्नती भै यात्रा गर्न नियमित र सहज भएमा कर्णाली प्रदेशको आर्थिक आम्दानीको प्रमुख स्रोत नै यो राजमार्ग हुने देखिन्छ भने भारतमा निर्भर आयात निर्यात उत्तर छिमेकी देश चिनसंग पनि विस्ताार हुनेछ ।
सडक स्तरउन्नतीको काम धमाधम भएपछि लकडाउनले बेरोजगार भएका स्थानीय युवा लगायतको आम्दानीको स्रोत बनेको छ सडक, सडकमा काम गर्न मुगु, जुम्ला, कालीकोट, अछाम, दैलेख, सुर्खेतसम्मबाट कामदार आएका छन् । उनीहरुलाई कोहि कसैबाट कुनै रोगको संक्रमण नहोस् भनेर एक गु्रपबाट अर्को गुरुपसँग सम्पर्क हुन दिईएको छैन ।
सडकको ठाउँ ठाउँमा ग्राभेलका लागि गिट्टी माटो थुपाईएको छ, सडक चौडा भएपछि रोलर लगाएर एकैचोटी ग्रावेल सक्ने गरि काम शुरु गरिनेछ, अहिले सडक चौडा गर्न नमिल्ने भिर र चट्टानमा डिलपट्टी पर्खाल लगाएर सडक चौडा बनाउने, गमगढी जिरो पोईन्टसम्म सडक कम्तिमा १० मिटरको चौडा बनाउने, वर्षाको पानीले विगारेको बाटो बनाउने, पहिरो पन्छाउने र नाला बनाउने जस्ता कार्य भैरहेकोछ भने हालसम्म ९३ किमी मध्ये ६० किमी सडक दुई लेन बनाउने र १५ किमी ग्रावेल बनाउने कार्य सम्पन्न भएको पनि सडक डिभिजन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार ११:३४