मुगु । मुगुमा पिसिआर मेसिन खरिद गर्ने निर्णय प्रक्रियामा अनिश्चित भएको छ । गत आर्थिक वर्षको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट बचेको रकमले जिल्लामा एउटा पिसिआर मेसिन खरिद गर्ने भन्ने सर्वपक्षिय निर्णय भएकोमा संम्बन्धित स्थानीय तहले निर्णय प्रक्रिया अगाडि नबढाएपछि मेसिन खरिद कार्य अन्योलमा परेको हो ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७६ को तेस्रो संशोधन नियमावलीमा भएको संशोधन बमोजिम जिल्लामा रहेका पालिकाले चालु आर्थिक वर्षको असार १५ सम्म खर्च नभई बचेको रकम सम्वन्धित पालिकाको कोडिभ १९ प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्न र उक्त रकम कोभिड १९ रोकथाम, नियन्त्रण, निदानका साथै उपचारमा मात्र खर्च गर्नु भन्ने २०७७ असार ३ गतेको मन्त्री परिषद्बाट कार्यविधि संशोधित भै पत्रचार भएकाले रकमबाट जिल्ला पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको थियो ।
निर्णय अनुसार चारवटै स्थानीय तहले आफ्ना प्रकोप व्यवस्थापन कोषमा जम्मा भएकोे रकम छायाँनाथ रारा नगरपालिकाको प्रकोप कोषमा जम्मा गर्ने र नगरपालिकाले पिसिआर मेसिन खरिदका लागि छोटो बाटोबाट सूचना प्रकाशित गरि मेसिन खरिद गरेर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।
निर्णय भएको करिव ४ महिना बितिसक्दा पनि पिसिआर मेसिन खरिद नहुँदा अझै पनि मुगुबाट संकलित स्वाव पिसिआर परीक्षणका लागि मानिस वा गाडीबाट जुम्ला लिनु पर्ने बाध्यता रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
स्थानीय जनतामा त्रासमय वातावरण श्रृजना नहोस् भनेर जिल्ला मै पिसिआर मेसिन खरिदका लागि आफुले सहमति दिएको भएपनि मेसिन खरिद प्रक्रियामा ढिलाई भएको संघीय सांसद गोपाल बहादुर बमले बताउनु भयो ।
कार्यक्रमका निर्देशक समितिका संयोजक एवं मुगु जिल्लाबाट संघीय सांसद गोपाल बहादुर बमको संयोकत्व र समन्वय प्रमुख पूर्ण बहादुर रोकाया, प्रजिअ कृष्ण कुमार निरौला, प्रहरी नायव उपरीक्षक भुवनेश्वर साह, उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, रेडक्रस सभापति जय बहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँगे्रस मुगु जिल्ला सभापति खड्क बहादुर शाही, नेकपा प्रतिनिधि मंगल बहादुर शाही सहितको उपस्थितिमा सर्वपक्षिय निर्णय भएको थियो ।
प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार १८:५७