मुगु । लगातारको वर्षाले अवरुद्ध रहेका नगर क्षेत्रका ग्रामीण सडक खुलाउन स्थानीय तहले सडक मर्मत कार्य शुरु गरेको छ । जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले वर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्ट्रिय सडक जोड्ने ग्रामीण सडक खुलाउन आइतबारबाट शुरु गरेको हो ।
वर्षाको पानीले सडक कटान गरेको, पहिरो आएको र सडक भासिनाले जिल्ला सदरमुकाबाट नगरक्षेत्र भित्रका सडक पुगेका १३ वटा वडा जोड्ने सडक एक महिना यता अवरुद्ध हुँदै आएका थिए ।
नगरपालिकाको आफ्नै स्काभेटर भएकाले यो वर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ । विगत वर्षमा प्राईभेट स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगरबासीले सास्ती भोग्नु पर्ने समस्या अब नरहेको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो । वर्षाको पानीले गमगढी–बालै–राताचौर सडक, गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुँदै आएका थिए ।
नगरको स्काभेटरले आइतबार गमगढी–तारापानी, सोमबार गमगढी–बालै–राताचौर सडकको ठाउँ ठाउँमा आएको पहिरो, भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडक पनि अवरोध हटाएर सडक सुचारु गरिएको छ ।
ग्रामीण सडक खुलेपछि साविक झै स्थानीयलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाउँबाट जिल्ला अस्पतालसम्म एम्वुलेन्स सेवा लिन सहज भएको छ भने गाउँका उत्पादन बजारसम्म र बजारमा उपलब्ध आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ ।
नगरभित्रका यी तिन सडक सहित गमगढी–नाउर–कार्कीवाडा, चौतारा–ढुम–कार्कीवाडा, हाईवय–रारा विमानस्थल र ताल्च–सल्लेरी–मिली सडक पनि शुचारुका लागि पहिरो हटाउने कार्य गर्ने नगरपालिकाले बताएको छ ।
प्रकाशित मिति: १७ भाद्र २०७७, बुधबार १५:२४