सुर्खेत । कोरोना भाइरसको असर पर्यटन क्षेत्रमा पनि परेको छ । कोरोना भाइरस रोकथामका लागि गत चैतदेखि सुरु भएको लकडाउन तथा विभिन्न निषेधाज्ञाले सुर्खेतको पर्यटकीय क्षेत्र नराम्ररी थला परेको छ । प्रदेश राजधानी सुर्खेतको मात्र नभइ प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु कोरोनाको असरले सुनसान बनेका छन् ।
दोस्रो लुम्बिनीको रुपमा परिचित सुर्खेतको कांक्रेविहार भग्नावशेष, बुलबुले ताल, देउती बज्यै मन्दिर, मुगुको रारा ताल, डोल्पाको से फोक्सुण्डो, दैलेखको पञ्चकोशी, सल्यानको कुभिण्डे दहजस्ता प्रख्यात पर्यटकीय स्थलहरु कोरोना कहरको शिकार बनेका छन् ।
विगतमा हजारौंको संख्यामा आउने स्वदेशी तथा विदेशी पर्यटक अहिले नआउँदा एकातिर पर्यटकीय स्थल सुनसान बनेका छन्भने अर्कोतिर आम्दानी पनि करिव शुन्यमा झरेको छ । जंगलको बिचमा निमार्णाधीन अवस्थामा रहेको काँक्रेविहार मन्दिर अवलोकनका साथै पिकनिक खान, घुमफिर गर्नका निम्ति विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेपनि लकडाउन निषेधाज्ञाले कोही पनि नआएको बताइन्छ ।
कांक्रेविहार बन संरक्षण समितिका कोषाध्यक्ष चन्द्रा श्रेष्ठले घुम्नमा रोक लगाइएपछि कांक्रेविहार हेर्न कोही नआएको बताउनुभयो । अवलोकनकर्ताहरु नै नआउने हुँदा आम्दानी पनि नभएको उहाँको भनाइ छ । अघिल्लो बर्ष रारा घुम्न जानका लागि आएका आगन्तुकले भरिभराउ हुने प्रदेश राजधानी वीरेन्द्रनगरका होटलहरु अहिले प्रायः बन्द अवस्थामा छन् । कोरोनाका कारण होटल बन्द हुँदा होटल व्यवसायीहरुलाई करोडौंको घाटा भएको बताइन्छ ।
होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले रारा जाने पर्यटकहरुले सुर्खेतका होटल भरिभराउ हुने गरेकोमा यसबर्ष सुख्खा भएको बताउनुहुन्छ । उहाँले लकडाउन र निषेधाज्ञाले होटलहरु थला परेको भन्दै व्यसायीहरु नै पलायन भइसकेको जनाउनुभयो । लकडाउनका कारण कर्णाली प्रदेशमा अर्ब बढीको क्षति होटल व्यवसायीहरुले भोग्नुपरेको दावी उहाँले गर्नुभयो ।
यस्तै सुर्खेतको अर्काे पर्यटकीय स्थल बुलबुलेले पनि लकडाउनको मार खेपेको छ । अहिले बुलबुलेमा कुनै पनि आगन्तुकहरु नआएको बताइन्छ । बुलबुले संरक्षण गर्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले लकडाउन निषेधाज्ञाले बुलबुले बन्द रहेको बताउनुभयो । बुलबुलेमा लकडाउन अघि दैनिक चार हजारसम्म आन्तरिक पर्यटकहरु अवलोकन गर्न आउने गरको भन्दै अहिले सुनसान रहेको जानकारी दिनुभयो । गतवर्ष २१ लाखको हाराहारीका राजश्व संकलन भएको तर अहिले १६ लाख झरेको छ । पर्यटकहरुबाट उठेको राजश्वले बुलबुलेमा १३ जना कर्मचारी व्यवस्थापन गरिएको उहाँको भनाई छ ।
यता प्रदेश सरकारले पनि गत चैत महिनादेखि यता कति पर्यटकहरु आए भन्ने कुनै तथ्यांक राख्न नसकिएको जनाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले चैतदेखि कोरोनाका विरुद्धको लकडाउनका कारण प्रदेशमा कति पर्यटक आए भन्ने कुनै तथ्यांक राख्न नसकिएको बताउनुभयो । उहाँले सुर्खेतको काँक्रेविहार, बुलबुले, मुगुको राराताल र डोल्पाको शे–फोक्सुण्डो तालमा पर्यटकहरु बढी आउने गरेको तर कोरोना कहरले गर्दा यहाँ पनि पर्यटकहरु नआएको जानकारी दिनुभयो ।
चैतदेखि यता पर्यटक आउने काम झण्डै शुन्यको अवस्थामा आएको र राजश्व पनि संकलन हुन नसकेको उहाँको भनाइ छ । अघिल्लो बर्ष प्रदेशका सवै जिल्लामा गरी करिव तीन लाख पर्यटक कर्णाली भित्रिएको अनुमान छ ।
प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार १५:०५