मुगु । हिमाली जिल्ला मुगुमा संकलन गरिएका स्वाव परीक्षणका लागि जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालासम्म पठाउन सकस हुने गरेको छ ।
मुगु जिल्ला सदरमुकाम गमगढी र गाउँपालिका केन्द्रहरुमा संकलित स्वाव परीक्षण हुने प्रयोगशाला रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासम्म पठाउन सडक सहज नहुँदा प्रतिष्ठानमा रहेको प्रयोगशालासम्म पठाउन सकस हुने गरेको हो ।
जिल्ला सदरमुकाम गमगढीबाट जुम्ला सदरमुकाम खलंगासम्म जाने सडक कहिले पानी परेर त कहिले पहिरो गएर अवरुद्ध हुँदा स्वाव लिएर गएका गाडी हिलोमा फस्ने, बाटो मै विग्रने जस्ता समस्या झेल्नु पर्ने भएकाले स्वाव पठाउन कठिनाई हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो ।
संकलित स्वावको अवधी ७२ घण्टा मात्र हुन्छ त्यसैले जिल्लाका अन्य गाउँपालिका तथा सदरमुकाममा संकलित स्वाव समय मै प्रयोगशालामा पठाउन गाडी जहाँसम्म जान्छ त्यहाँसम्म गाडीमा र त्यहाँबाट मान्छेलाई स्वाव संललित बक्स बोकाएर जुम्ला पठाउने गरेको डाक्टर नगरकोटिले बताउनु भयो ।
मुगुबाट जुम्ला पुग्न गमगढी–बुलबुले–डाँफे–जुम्ला, गमगढी–नाग्म–जुम्ला र खत्याड–गोठीजिउला–नाग्म–जुम्ला सडक प्रयोग गरिन्छ । यी सडकहरुको मुगु तथा जुम्लाका केहि खण्डहरुको स्त्तरउन्ती नगरिएकाले हिलो सडक हुने र पहिरो खसेर अवरुद्ध हुदै आएका छन ।
पछिल्लो एक महिना यता यी सडक अवरुद्ध हुदा मुगु तर्फ आउने सवारी तथा अन्य मालवाहक गाडी चलेका छैनन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका, सोरु गाँउपालिका र मुगुम कार्मारोङ्ग गाँउपालिकामा यो अवधीमा संकलित स्वाव मान्छे मार्फत बोकाएर जुम्ला पठाउने गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख नगरकोटी भन्नुहुन्छ, ‘गत ५ गते मुगुबाट पठाएको ६२ जनाको स्वाव ल्याव असिष्टेन्टले आफै बोकेर जुम्ला पुराउनु भयो ।’
सडक सहज भए एक दिन मै जुम्ला पुग्ने भएपनि बर्षाले बाटो विगारेकाले यताबाट पठाएका स्वाव समय मै जुम्ला नपुग्दासम्म बाटोमा के कसो हुने हो भनी चिन्ता लाग्ने गरेको पनि डाक्टर नगरकोटी बताउनु हुन्छ ।
देशमा कोरोना महामारीले ठुलो रुप लिदै गईरहेका बेला मुगुमा स्वाव प्रयोगशालासम्म पुर्याउन समस्या हुन थालेपछि समय मै संक्रमितको पहिचान हुन नसकि समुदायसम्म पो कोरोना फैलिने हो की भनी सरोकारवालाहरुले चिन्ता लिने गरेका छन् ।
लामो समयसम्म सडक अवरुद्ध हुने र सम्वन्धित स्थानिय तहहरुले स्वाव प्रयोगशालासम्म पुर्याउने भन्ने निर्णय भएपनि स्थानीय तहहरुले आनाकानी गर्ने गरेको र आफुसंग बजेट अभाव भएको, बजेट थप पठाउन संघ र प्रदेश सरकारहरुलाई अनुरोध गरेपनि त्यसको सुनुवाई नभएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला गुनासो गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यो संकटमा संघ र प्रदेश सरकारबाट हामीले सोचेजती सहयोग पाउन नसकेपनि स्थानीय सरकार जिम्मेवारी र दायित्वबाट पन्छिनु हुँदैन उनीहरु नै जनताका नजिकका सरकार हुन यो बेला स्थानीय सरकार झन सक्रिय हुन आवश्यक छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासम्म मुगु जिल्लाबाट स्वाव पठाउन हुने गरेका विभिन्न कठिनाईका बाबजुत पनि विहीवारसम्म १८६१ जनाको पीसीआर परीक्षण भएको र पाजेटिप देखिएका ४ जना मध्य खत्याड गाउँपालिकाका ३ जना कोरोनालाई जितेर घर फर्किसक्नु भएको बाँकी छायाँनाथ रारा नगरपालिका क्षेत्रमा रहेको एक कार्यालयका कर्मचारी होम आईसुलेसनमा रहेको र उहाँको दोस्रो स्वाव सहित ३६१ जनाको स्वाव परीक्षणका शुक्रबार जुम्ला पठाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार १७:५२