मुगु । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि अहोरात्र खटिने सुरक्षाकर्मी र संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा खटिएका जिल्लाका क्रियाशिल संचारकर्मी तथा नेपाल प्रहरीलाई मानवअधिकार तथा वातावरण विकास केन्द्र हेरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा दिन रात खटिरहने नेपाल प्रहरी र समाचार संकलन गर्न हिड्ने जिल्लामा रहेका क्रियाशिल संचारकर्मीलाई प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको रोहबरमा हिरेन्डेक नेपालका मेनेजर नब रावतले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
कोरोना महामारी रोकथामकालागि आफ्नो ज्यानको प्रबाह नगरी ड्युटीमा खटिने सुरक्षाकर्मी र जिल्लास्थित संचारकर्मीलाई महामारीमा काम गर्न उर्जा थपियोस भन्ने उदेश्यले हिरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहल तथा मनधरी फाउन्डेसन नेपालको आर्थिक सहयोगमा खरिद गरी पठाएकोे स्वास्थ्य सामग्रीहरुमध्य नेपाल प्रहरीलाई २८ थान पिपिई, २८ फेसियल सेट, ९ सय पिस सर्जिकल मास्क, १ सय १२ पिस साबुन र ९ थान फस्टेड सेट र जिल्लास्थित १७ जना क्रियाशिल संचारकर्मीलाई एक ÷ एक थान फस्टेड बक्स आफनो रोहबरमा हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिनुभयो ।
दुर्गम क्षेत्रमा चाहेजति स्वास्थ्य सामग्रीहरु पाईदैन आफुसंग भएको सिमित सामग्रीको प्रयोग गरेर जनतालाई सुरक्षा दिनुपर्ने अवस्थामा रहेका सुरक्षाकर्मीहरुलाई मनघरी फाउण्डेसनले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुले प्रहरीहरुको मनोबल बढेको र सेवामा थप जिम्मेवार बन्न प्रेरित गरेको प्रनाउ शाहले बताउनु भयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले महामारीमा आफ्नो साथै घरपरिवारको वास्ता नगरी समाचार संकलनकालागि फिल्डमा खटिरहने पत्रकारहरुकालागि उपलब्ध गराएको फस्टेड बक्समा रहेका सामग्रीहरुले पत्रकारहरुलाई फिल्डमा खटेका बेला हुन सक्ने सम्भावित दुर्घटना र जोखिमबाट बच्न सहयोग पुग्ने बताउनु भयो ।
वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापाअध्यक्ष रहनु भएको मनधरी फाउण्डेसनले देशका विभिन्न ठाउँहरुमा विभिन्न विपत र समस्यामा परेका दुर्गमका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी, विद्यालय र विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार १३:३९