मुगु । जिल्लामा खाद्य गोदाम रित्तिएपछि उपभोक्तालाई चामल पाउन निकै मुस्किल हुन थालेको छ । गमगढीमा रहेको मुख्य खाद्यगोदामसहित सोरुकोट, पूलु, श्रीकोट, रातापानी, कालै लगायतखाद्य डिपोहरुपनि खाली भएका छन ।
गत आर्थिक बर्षमा ढुवानी भएको चामल बिक्री भईसकिएको र यो चालु आर्थिक बर्षको चामल ढुवानीको लागि ठेक्का प्रकृया मै रहेको हुँदा जिल्लाभरीका खाद्य डिपोदेखि बिक्री केन्द्रमा खाद्यन्न सकिएका छन ।
गमगढी खाद्य गोदाममा ५ सय क्वीन्टल चामल आपत्तकालिनकोलागि जगेडा राखेको र सबै डिपोमा चामल नभएको खाद्य ब्याबस्थापन तथा ब्यापार कम्पनी लिमिटेड मुगु शाखा प्रमुख कर्णबहादुर रावलले बताउनु भयो । लकडाउनका बेला स्थानिय सरकारहरुले राहतस्वरुप वितरण गरेको चामल लिमिटेडबाटै लगेको र बाहिर जिल्ला तथा भारत र अन्य मुलुकमा रहेका मुगालीहरु यो अबधीमा जिल्ला भित्रीएकाले चामल विक्री वितरण बढेर अभाव भएको उहाँले बताउनु भयो ।
राहत वितरण गर्दा जिल्लामा रहेका चार वटा स्थानिय सरकारहरुले लिमिटेडका विक्री केन्द्र, डिपो तथा शाखाबाट १० हजार १ सय १९ दशमलव ४५ क्वीन्टल चामल खरिद गरेका थिए ।
‘गत बर्षहरुमा यसरी खाद्य गोदाम खाली भएको रेकर्ड थिएन उहाँले भन्नुभयो यो पटक कोरोना महामारीका कारण चामल बढी खपत भएको हुँदा साउनमै गोदाम रित्तिएका हुन ।’ उहाँका अनुसार गोदाममा चामल सकिएपछि विक्री बितरण कार्य बन्द गरिएको छ । चामल छिटो आपूर्तीको ब्यवस्था मिलाईदिन क्षेत्रिय कार्यालयमा पत्रचार गरिसकेको प्रमुख रावलले जनाउनुभयो ।
एकातिर कोरोनाको कहर अर्कोतिर खेतबारीमा अन्नबाली नपाकेको अवस्थामा जिल्लामा खाद्यन्न अभाव हुँदा उपभोक्ता चिन्तित भएका छन । गमगढी क्षेत्रमा १० हजार क्वीन्टल, सोरुकोट डिपोमा २२ सय क्वीन्टल, पूलु डिपोमा १२ सय क्वीन्टल, श्रीकोटमा १२ सय र रातापानीमा ८ सय क्वीन्टल बार्षिक खाद्य कोटा रहेको खाद्य ब्याबस्थापन तथा ब्यापार कम्पनी लिमिटेडले जनाएको छ ।
यो चालु आर्थिक बर्ष गमगढी क्षेत्रको लागिमात्र ११ हजार क्वीन्टल चामल माग गरिएको छ ।
बजारमापनि सकियो खाद्यान्न
खाद्य गोदाममा मात्र नभएर गमगढी बजार क्षेत्रका व्यापारीको पसलहरुमासमेत खाद्यन्नलगायत अन्य दैनिकउपभोग्य वस्तुहरुको समेत अभाव हुन थालेको व्यापारीहरुले गुनासो गरेका छन् ।
लगातारको बर्षाले नाग्म–गमगढी सडक अबरुद्ध हुनु र सडक विस्तार नाकामा सडक हिलाम्य हुँदा महिनौ दिनसम्म ढुवानी गर्ने मालबाहक साधन बाटोमै रोकीने समस्याले गाडीहरु मुगु आउन नमान्दा मौज्दात सामान सकिएको र थप सामानहरु ल्याउन कठिनाई हुँदै गएकाले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुँदै गएको उद्योग बाणिज्य संघ मुगुले जनाएको छ ।
गत २ गते उद्योग बाणिज्य संघ मुगुमा व्यापारीहरुको बसेको बैठकमा व्यापारीहरुले सडक नियमित संचालन नभएको र सडक मर्मतमा सरकारले ध्यान नदिएको हुँदा सामान ढुवानी गर्न समस्या भएकाले बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव भएको बताए । अबको केहि दिनमापनि सडक सुचारु हुन नसकेमा सामानहरु सकिएर ढोका बन्दगरि बस्नु पर्ने अवस्था सृजना हुने व्यापारी रवि रावतले बताउनु भयो ।
बजारमा चामल, तेल, पिठो, लगायत निर्माण सामग्री तथा लत्ताकपडाहरुको अभाव हुँदै गएकोपनि व्यापारीहरुले गुनासो गरे । खाद्यन्न खरिदकलागि जिल्ला सदरमुकाम तथा पालिका केन्द्रहरुमा स्थानियहरु पैसा बोकेर आउने गरेपनि कतै चामल तथा अन्यवस्तु नपाउँदा रित्तो हात फर्किने गरेको अवस्था छ ।
प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १५:५०