मुगु । दर्गम तथा पिछडीएका जिल्लामा बालबालिकामा कुपोषण दर बढ्दै गएको भन्दै सरकारी तथा गैर सरकारी संघ सस्थाले उपचारात्मक, व्यवहारात्मक तथा खानपानमा सुधार ल्याउन वर्षेनी ठुलो रकम खर्च गर्दै आएपनि पोषणमा राज्यको लगानी वालुवामा पानी सरह हुने गरेको छ ।
पछिल्लो समय हिमाली जिल्ला मुगुका बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको पाइएको छ । कुपोषणका कारण ५ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको हो ।
प्रयाप्त मात्रामा परिवार नियोजनका साधनको प्रयोग नगर्नु, बाल बिबाह गर्नु, गरिबी तथा बेरोजगारी र कम उमेरमै बच्चा जन्माउनु नै कुपोषणको मुख्य कारण रहेका छन् ।
बिशेष गरेर २ वर्ष मुनिका बालबालिकामा कुपोषणको समस्या धेरै देखिएको छ । गलत खानपान, स्तनपानको कमी गरिबी लगायतका कारणले बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको देखिन्छ ।
बिगतका वर्ष भन्दा यो वर्षको सुरुमै कुपोषणका बिरामीको संख्या जिल्लामा उच्च देखिएको स्वास्थ्यकर्मीले बताउनु भएको छ ।
एक महिनामै ३४ बालबालिकामा कुपोषण
साउन महिनामा मात्रै ३४ जना बालबालिकामा कडा जटिल खाले कुपोषण समस्या देखिएको छ ।
साउन महिनामा मात्रै कुपोषणको समस्याका कारण जिल्ला अस्पाताल ल्याइएका मध्ये ३१ जनालाई उपचारात्मक खाना (आर. यु. टि. एफ) १४ दिनका लागि दिएर घर पठाइएको थियो भने ३ जनालाई अस्पतालमै भर्ना गरिएको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्यक्रमका सम्पर्क अधिकारी परशुराम नेपालीले बताउनु भयो ।
भर्ना गरिएका ३ जना बालबालिकालाई अस्पतालमा (एट–७५) नामक दूध खुवाएर उपचार गरिएको छ, भर्ना गरिएका ३ जना मध्ये २ जनाको उपचारपछि घर पठाइएको, उनीहरुलाइ १४ दिनका लागि उपचारात्मक खाना (आर.यु.टि.एफ) दिएको र एक जनाको अस्पतालमै उपचार भैरहेको उहाँले बताउनु भयो ।
छोरीलाई लामो समय देखि बान्ता हुने, पखाला लाग्ने, खाना नखाने, दुब्लाउदै जाने समस्याले सिकिस्त भएपछि अस्पतालमा आई डाक्टरलाई जचाउन जाँदा कुपोषण भएको थाहा पाएको सोरु गाउँपाकिा– ९ कालै गाउँकी हजारमती बिकले बताउनु भयो । बिकले कुपोषणका कारण थला परेकी आफ्नी १० महिनाकी छोरी सुनिता विकलाई ५ दिन देखि अस्पतालमा उपचार गराई रहनुभएको छ ।
अस्पातालमा छोरीको उपचार सुरु भएपछि छोरीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै उहाँ बताउनु हुन्छ । उहाँले गाउँ घरमा यस्ता खालका बिरामी बच्चा धेरै भएको र उपचारको लागि अस्पताल ल्याउन टाढा भएकाले धामी, झाक्री, हेराउने, जडीवुटी खुवाउने गर्दै आएको तर कुपोषणको समस्याले यस्तो भएको हो भन्ने बारे थाहा नभएको बताउनु भयो ।
जिल्लामा कुपोषणको सामान्य देखि कडा खालका बिरामी बालबालिकाका लागि जिल्ला अस्पतालले उपचारात्मक खाना (आर.यु.टि.एफ) र एट– ७५ दूध खुवाएर उपचार गर्दै आएको छ । भने सप्रोस नेपाल नामक गैह्र सरकारी संस्थाले फोर्टिफाइड फ्लावर नामक पोशीलो खाना बितरण गर्दै आएको छ ।
कुपोषण देखिएका अधिक जसो बालबालिका सदरमुकाम आसपास क्षेत्रका रहेका छन् ।
जन्मान्तरको समस्याले कुपोषण बढ्दो
स्वस्थ बच्चाको लागि कम्तीमा २ वर्षको फरकमा मात्रै सन्तान जन्माउनु पर्ने स्वास्थ्य पोर्टोकलमा उल्लेख छ तर पछिल्लो समय मुगुमा भने समय नपुगेरै बच्चा जन्माउने समस्या धेरै भएको र गर्भाअन्तर तथा जन्मान्तरमा ध्यान नदिँदा कुपोषण बढिरहेको सूचना अधिकारी नेपालीको भनाई छ ।
बालबालिकाको खानपीनमा ध्यान नदिनु, पुरक आहारको समस्या, अपरिपक्क अवस्थामा बच्चा जन्माउनु लगातका समस्याले पनि कुपोषको समस्या बढ्दै गएको उहाँको भनाई छ ।
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार २१:०४