सुर्खेत । लघु उद्यमीहरुलाई घरेलु वस्तुको उत्पादनमा सघाउनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा बन्न लागेको लघु औद्योगिक ग्रामको काम ८५ प्रतिशत सम्पन्न भएको होे । कर्णालीका करिब ७ सय उद्यमीलाई रोजगार बनाउने उद्देश्यले बन्न लागेको ग्रामको करिब ८५ प्रतिशत काम सकिएको निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिनाभित्र सञ्चालनमा आउने गरी औद्योगिक ग्राम निर्माणलाई तीव्रता दिइएको छ ।
गत आर्थिक वर्षको असार मसान्तमै काम सक्ने गरी सम्झौता भए पनि लकडाउनका कारण समस्या भएको निर्देशक योगीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनका कारण ग्रामको काम ढिलो भएको हो । अबभने ग्राम निर्माण प्रक्रिया तिव्र गतिमा हुनेछ । यही गतिमा काम हुने हो भने ६ महिनाभित्रै काम सकेर हामीलाई हस्तान्तरण हुन्छ ।’ उहाँका अनुसार अहिलेसम्म आर्थिक प्रगति ८५ प्रतिशत भएको छ । ग्राम निर्माणका लागि भ्याट बाहेक ६ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
ग्राममा सडक, विद्युत, पानी, यातायात तथा पार्किङ सुविधा सहितको आधुनिक प्रविधि हुने निर्देशक योगीले बताउनुभयो । यी भवनमा विपन्न तथा सीमान्तकृत वर्गका व्यवसायीले आफ्ना व्यवसायहरु सजिलै सञ्चालन गर्न सक्ने उहाँले जनाउनुभयो ।
जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) इन्क्लुडसँगको समन्वयमा औद्योगिक ग्रामको निर्माण योजना अघि सारिएको हो । निर्माणाधीन औद्योगिक ग्राम अत्याधुनिक सुविधासहितको भूकम्प प्रतिरोधात्मक हुनेछ । करिव साढे तीन विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको ग्राममा जम्मा ६६ वटा सटरहरु हुनेछन् । ग्राममा हर्वल ब्लक, मिनरल, परम्परागत उद्योग, उत्पादनमूलक उद्योग र कृषि उद्यम रहने छ । ‘अहिले नै यी उद्योग सञ्चालनमा आउँछन् भन्न त सकिँदैन,’ निर्देशक योगीले भन्नुभयो, ‘उद्यमीहरुले के उत्पादन गर्छन् त्यसमा भर पर्छ, सञ्चालक समिति बनेपछि थाहा हुन्छ ।’ व्यावसायिक अनुसन्धान केन्द्र, मेडिकल केयर, डे–केयर सेन्टर, प्ले–ग्राउण्ड, पाँच सय जना अट्न सक्ने हल तथा पाँच वटा सुविधा सम्पन्न सेल्टर पनि ग्राममा रहने बताइएको छ ।
योजना अनुसार ग्रामको चारैतर्फ विभिन्न भवनहरु निर्माण गरिने छ । सोही भवनका बाहिरतर्फ सटर राखेर उत्पादित बस्तुहरु विक्रीवितरण गर्न सकिनेछ । भित्र उत्पादन गर्नका लागि छुट्टै कक्षहरु रहनेछ । भिलेज निर्माण पश्चात् लघु उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको उत्पादन तथा सहज बिक्रीवितरण सँगै बजारीकरणमा सहयोग पुग्ने अपेक्षा निर्देशनालयको छ । ‘ग्राममा उद्योग मात्रै सञ्चालन हुन्छन्,’ निर्देशक योगी भन्नुहुन्छ, ‘विक्रीवितरण गर्न भने बाहिर जानुपर्नेछ ।’
ग्राम निर्माणका लागि ०७४ फागुनबाट एसबीए र रविन जेभीले जिम्मा लिएको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: २५ श्रावण २०७७, आईतवार १५:५६