मुगु । सदरमुकाम गमगढी नजिकै रहको एक खोलामा पुल नहुँदा काठको लाप्कोेबाट आवतजावत गरिरहनु परेको स्थानीय बासिन्दाले बताएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं १ अल्का साघुँमा पुल नहुँदा स्थानीयले एक वर्ष देखि काठको लाप्कोको भरमा जोखिम पूर्ण यात्रा गरिरहेको बताएका हुन् ।
गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत पर्ने छायाँनाथ रारा नगरपालिकाको वडा नं १ अल्का साँघुमा काठे पुल बगाएको एक वर्ष बित्दा पनि पुल नहुँदा सानो काठको लाप्कोमा जोखिम पूर्ण यात्रा गर्नु परिरहेको आवतजावत गर्ने नागरिकले गुनासो गर्दै आएका छन् ।
गत वर्ष साउन ३२ गते परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढीले अल्का साघुँ लगायत गमगाढ खोलाका बिभिन्न स्थानका १ दर्जन भन्दा बढी काठेपुल पुल बाढीले बगाएको थियो ।
पुल नहुँदा तिर्थ जाने तिर्थालू, मुगुम् कार्मारोङ गाउँपालिकाका स्थानीय र नगरपालिकाको वडा नं १०, ११, १२ का लुम्स, तिर्प, लह, लापु, चिमात, सोभा, सालिम, तलिलेक, चराप गाँडापानी लगायत दर्जनौ गाउँका नागरिक प्रत्यक्षरुपमा प्रभावित भएका छन् । उनीहरुलार्ई सदरमुकाम गमगढी सम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएकोे छायाँनाथ रारा नगरपालिका वडा नं १० तलिलेकका अंक बहादुर बुढाले बताउनु भयो ।
पुल बगाएपछि आवतजावतमा समस्या हुँदा समेत सम्बन्धित सरोकारवाला निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार २०:०२