मुगु । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरि घाइते बनाईएका शिक्षकको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ वर्र्षीय शिक्षक बिष्णु राज धामीलाई नेकपाका कार्यकर्ताहरुले मणान्नसन्न हुने गरि कुटपिट पछि हेलिकप्टरबाट उद्दार गरिएको हो ।
तत्कालीन नेकपा माओवादीबाट संविधान सभामा मुगु जिल्लाबाट निर्वाचित पूर्व सांसद नवराज धामीका छोरा मनोज धामीको नेतृत्वमा सोमबार राती १ बजे शिक्षक धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा घरबाट ५ सय मिटर टाढा रहेको काटीया खोलामा लगि निर्घात मरणसन्न हुने गरी कुटपिट गरेर घाइते बनाएको दाई डिल बहादुर धामीले बताउनु भयो ।
उहाँका अनुसार भाईलाई टाउको, पिठ्यूँ र तिर्घामा चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था मिलाई मंगलबार घाइते भाईको माउन्टेन हलिकप्टबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत उपचार भैरहेको छ ।
घाइते धामी नेपाली काँगे्रसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा आवद्ध रहेको र गाउँमा पूर्व सांसदकोे दवदवा रहेपनि काँगे्रस समर्थकहरुले सांसद लगायत उनका सन्तानको दवदवाको सधै विरोध गर्ने भएकाले सत्ता र पदको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताहरुले आफ्ना भाईलाई राती सुती रहेको बेला अपहरण शैलीमा घरबाट टाढा लगि मार्ने उद्देश्यले कुटपिट गरेको दाई डिल बहादुरले आरोप लगाउनु भयो ।
सोमबार दिउँसो गाउँमा रहेको विद्यालयमा फुुटबल खेल खेल्दा झगडा गर्ने निहुँ खोजेका पूर्व सांसदका नातागोताहरुले राती बाटोमा कुरेर बसेपनि बाटोमा कोही नआएपछि राती घर मै गएर घिसार्दै गाउँ नजिक कै लिएर कुटपिट गरेका थिए ।
दिउँसो फुटबल खेल्दा विवाद भएको र राती पूर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि सुत्न गएका धामीको घरमा राती १ बजे तिरसोहि गाउँका मनोज धामी सहितको ७ जनाको टोली गई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र सोरुकोटबाट भिई गाउँमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
केही दिन अघि मात्र नेकपा कै कार्यकर्ताहरुले रेडियो श्रीनगर एफएम मुगु सम्वाददात खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाइते दाई सहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी गर्न आएका थिए । दाई सदरमुकाम मै रहेको बेला भाईलाई कुटपिट गरिएकोले अगाडीको घटनालाई प्रभावित बनाउन भाईलाई कुटपिट गरिएको हुनसक्ने आकलन गरिएको छ ।
घाइते बुमीका दाजुभाई स्थायी शिक्षक भएको र गाउँमा आउने विकास तथा अन्य काम कुराको सधै पारदर्शी हिसाव किताव खोज्ने भएकाले यिनीहरुलाई ठेगान लगाए गाउँमा आफ्नो र पार्टी एकलौटी बर्चस्व हुने भएकाले ज्यान मार्ने ध्यले कुटपिट गरेको पीडित परिवारले बताएका छन् ।
यसै विच नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ । शिक्षक संघ मुगुका अध्यक्ष जंग बहादुर शाही र सचिव विनोद कुमार मल्लद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ, मुगु जिल्ला सोरु गाउँपालिका वडा नं ३ निवासी कालिका आध।भुत विद्यालय लिवु्रका शिक्षक एवं नेपाल शिक्षक संघ मुगुका विशिष्ठ शिक्षक विष्णुराज धामीलाई साउन १९ गते राती १ बजे तिर धामीको घरबाट ५०० मिटर टाढा काटिया खोला भन्ने ठाउँमा लगि नेकपा (पूर्व माओवादी) सर्मथकका कार्यकर्ताहरुले मणान्नसन्न अवस्था हुने गरि कुटपिट गरेको अमानवीय कार्य हो ।
घाइते शिक्षकलाई साउन २० गते नेपाली काँगे्रस मुगु र अन्य सरोकारवाला विभिन्न निकायहरुको पहलमा हेलिकप्टरबाट उद्दार गरि प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेकोले स्वास्थ्य लाभको कामना गदै एउटा निर्दोष राष्ट्रसेवक शिक्षक माथी ज्यान मार्ने गरि भएको कुटपिटको अपराध प्रति नेपाल शिक्षक संघ मुगुका ध्यानआकर्षण भएको जनाएको । कुटपिटमा संलग्न समुहलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजायको भागेदारी बनाई कार्वाही गरियोस् भनी सरकार तथा सम्वन्धित निकायसँग नेपाल शिक्षक संघले जोडदार माग गरेको छ ।
कुटपिट बारे बुझ्न आरोपी मनोज धामी र पूर्व संविधान सभा सदस्य नवराज धामीलाई सम्पर्क गर्न खोज्दा दुवैको मोवाइलमा सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार १२:४३