मुगु । कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डमा यात्रु र सवारी चालकहरुले सधै सास्ती भोग्दै आएका छन् । यो सडक संचालनमा आएको १० वर्ष वितिसक्दा पनि सडकको स्तरउन्नती नगरिंदा पानीले हिलाम्य, घाम लाग्दा धुलाम्य र पटक पटक सडकमा पहिरो आउदा बाटो अवरुद्ध हुने गरेकाले यो सडकमा यात्रा गर्ने यात्रु र सवारी तथा मालबाहक साधनहरुले संधै सास्ती भाग्दै आएका हुन् ।
कालीकोट जिल्लाको नाग्म बजार देखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म संधै समस्या हुने भएकाले सारै मुस्किल हुने गरेको र गाडीहरु हिलोमा फस्दा निकाल्न सास्ती हुने गाडी चालक खेमराज हमालले बताउनु भयो । सडक समस्याले गर्दा सुर्खेत देखि गमगढी पुग्न २० दिनसम्म लाग्ने गरेको हमालले बताउनु भयो ।
नाग्मा–गमगढी सडक सञ्चालनमा आएको १० वर्ष वित्दापनि सडक कालोपत्र नहुँदा वर्षाको समयमा हिलाम्य हुने हिउँदको समयमा हिउँ जम्ने गरेकोले १२ महिनामा ८ महिना यो सडक बन्ध हुने र ४ महिना मात्र सञ्चालनमा आउने गरेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले सडक चौडा बनाउने काम असारको अन्तिममा गराउने र कामको जिम्मा लिने ठेक्कादारहरुले पनि अन्तिम तिर मात्र काम गर्ने भएको हुँदा बर्खाको समयमा पानीले गर्दा सडक झन हिलाम्मे हुने हुँदा मालबाहक गाडीहरु र अन्य यातायातका साधनहरु हिलोमा फस्दा गाडीका पाटपुर्जा छिटो बिग्रेर समस्या आउने गरेको माल बाहक गाडी मालिक रबि रावतले बताउनु भयो ।
बुटवल, नेपालगञ्ज, सुर्खेतबाट खाद्यान्न तथा निर्माणका सामग्री ल्याएर आएका मालवाहक, सवारी साधनहरु हिलोमा फसेर निकाल्नै समस्या हुने गरेको सवारी चालकहरु बताउँछन् । चालकहरुलाई हिलोमा फसेका गाडी निकाल्दै धेरै दिन वित्ने भएपछि सडक मै खाना पकाएर खानु पर्ने अवस्था रहेको छ ।
सरकारले गमगढी–नाग्म सडक खण्डको ९४ किलोमिटर कालोपत्र नगर्दा वर्षामा हिलाम्य र घाममा धुलाम्य हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल बताउनु हुन्छ । सडक सञ्चालनमा आएको १० वर्षसम्म कालोपत्र नहुदा जुम्ला, मुगु र हुम्लाका स्थानीयले सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।
सडक डिभिजन कार्यालय जुम्लाबाट यो खण्डमा दुई लेनको सडक विस्तार गर्न जिम्मा लिएका ठेक्कादारहरुले सहज हुने ठाउँमा काम गरेको, सडक फराकिलो बनाउन असहज ठाँउमा काम नगरी छोडेकाले यो सडकमा गाडी गुडाउन झनै समस्या हुने गरेकोगाडी चालकहरु बताउँछन् ।
हिउँदमा हिउँले र बर्खाको समयमा पानीले सडकमा समस्या आउँदा मुगुका ब्यापारिहरुले सहजै रुपमा ब्यापारिक सामान र विकास निर्माणका सामान सहज रुपमा ढुवानी गर्न नपाउँदा मुगुका व्यवसायीले निकै दुख्ख पाउर्ने गरेको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढाले सुनाउनु भयो । हिलाम्य सडकका कारण मुगुका लागि हिडेका दर्जनौ गाडी महिना दिनदेखि अहिलेपनि विच बाटो मै फसेका छन् ।
गाडी तान्न प्रति गाडी १० हजार तिर्दै व्यवसायी
सडक डिभिजन कार्यालयले सडक विस्तारको नाममा माटो मात्र भएको खण्डमा चौडा गरि माटो पुरानै सडकमा राखेपछि हिलाम्य भएको सडकमा हप्तौ दिनसम्म सवारी तथा मालबाहक गाडी फस्न थालेपछि व्यवसायीले चर्को मुल्य तिरेर गाडी निकाल्ने गरेका छन् ।
मुगु तथा हुम्ला जिल्लाका लागि सामान ढुवानी गर्दै आएको न्यु मनकामना ढुवानी सेवाले जुम्लाको रोकाया बाडामा हप्ता दिन देखि हिलोमा फसेका आफ्ना ७ गाडी प्रति गाडी १० हजार तिरेर निकालेको ढुवानी सेवाका सम्पर्क कर्मचारी महादेवजंग शाहीले बताउनु भयो ।
नाग्मबाट मुगुको तर्फ लागेपछि दर्जनौ स्थानमा गाडी हिलोमा फस्ने गरेका छन्, यसरी गाडी विच बाटो मै फसेपछि गाडीको लाम लाग्ने गरेको छ, कोरोनाका डरले बाटोमा खान बस्न कसैले दिदैन भोक भोकै हप्तौ दिन बाटो मै बस्नु पर्ने अवस्था रहेको भे १ ख २१२२ मालबाहक गाडीका चालक रमेश सिं ठकुरीले बताउनु भयो उहाँले भन्नुभयो, बाटोमा भोगीने दुख्ख भनेर साध्य छैन देशमा सरकार भए नभएको यही नाग्म गमगढी सडकमा आए थाहा हुन्छ ।
दर्जनौ ठाउँमा गाडी फस्न थालेपछि बाध्य भएर व्यवसायीले स्काभेटरलाई चर्को पैसा तिरेर फसेको सडकबाट निकाल्दा यसको असर उपभोक्ताहरुमा परेको छ । सामान्य अवस्थामा नेपालजंग–मुगु प्रति केजी ८ देखि १० रुपैयाँ लिदै आएका ढुवानीकर्ताले बाटो कै कारण यो बेला प्रति केजी ३० देखि ४० रुपैयाँ दिँदै आएका छन् ।
सडक विस्तार र सास्तीका बारे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीसंग बुझ्दा सडक चौडा र विस्तार गर्दा हिलाम्य भएको स्वीकारदै उहाँले काम गर्दा केहि असहज भएपनि सडक विस्तार र सुधार भए भोलीका दिनमा आरामदायी र सहज हुने बताउनु भयो ।
यो आर्थीक वर्षमा नाग्म–गमगढी सडक चौडा सहित ग्राभेल समेत गर्ने कार्यालयको योजना रहेकाले अर्को वर्ष हिलोका कारण यो खण्डमा कतै गाडी रोकिए त्यसको जवाफ आफुले दिने र ९ किलो मिटर दुरी रहेको गमगढी–रारा विमान स्थलमा असहज सडकको फाईदा उठाउदै व्यवसायीले चर्को भाडा असुली रहेकाले यो खण्डपनि ग्रावेल गरिने र सडक चौडा पर्दा ठेकेदारले चट्टान भाग छोडेकोले यी खण्डमा काम हँुदैन की भनेर शंका नगर्न डिभिजन प्रमुख भण्डारीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो सडकको तलपट्टी बाल लगाएर भएपनि चट्टान भएका भागमा कम्तिमा १० मिटर चौडा र नाग्म–गमगढी सडकमा सरर गाडी चल्ने सडक बनाउछौ ।
प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार २१:४७