काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताउनुभएको छ । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकूद विभागले आज सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले खेलाडी देशको गहना र शान भएको उल्लेख गर्नुभयो ।
सभापति देउवाले काँग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । विगतमा पनि काँग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उहाँले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताउनुभयो । आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उहाँहरुको प्रशंसा गर्नुभयो । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उहाँले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गर्नुभयो । काँग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उहाँले केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण खेलाडीलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उहाँले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी काँग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिनुभयो । रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उहाँले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । सदस्यसचिव सिलवालले खेलकूद ऐन, २०७७ ल्याउनुअघि संसद्मा सांसदहरुले पर्याप्त ध्यान र समय नदिएकामा गुनासो गर्नुभयो । खेलाडीको हकहितका लागि हाल जारी ऐनमा अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै उहाँले आगामी दिनमा सबैले थप छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यवाद दिनुभयो । खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उहाँले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिनुभयो । श्रेष्ठले प्रशिक्षक खेलाडीको आमाबुबा भएको आयोजकलाई स्मरण गराउनुभयो । पछिल्लो समय सरकारले खेलाडीको भविष्यको सुनिश्चितता र विभूषण प्रदान गर्दा सागमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई नसमेटेकामा गुनासो गर्नुभयो । नवौँ सागपछि विभूषण प्रदान गर्ने क्रममा तथा जागिर दिलाउनमा कन्जुस्याइँ गरिँदै आएको प्रति श्रेष्ठले असहमति प्रकट गर्नुभयो । पदक जितेको केही महिनासम्म सम्मान गर्ने र पछि खेलाडीलाई सबैले बाई बाई गर्दै आएको परिपाटी चित्तबुझ्दो नभएको उहाँको भनाइ थियो ।
काँग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहोरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो । सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गर्नुभयो ।
सागमा एकल र समूहगत रुपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको हो । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो । नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो ।
प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार २१:१५