मुगु । आफ्ना सदस्यहरुलाई सहकारी मार्र्फत विभिन्न सेवा दिदै आएको यहाँको छायाँनाथ सहकारी संस्थाले सदस्यहरुलाई एम्वुलेन्स सेवा समेत दिन शुरु गरेको छ ।
जिल्ला कै ठुलो वित्तिय कारोवार गर्ने वित्तिय संस्था छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुर दराजमा रहेका बिरामी सदस्यहरुलाई सुविधा दिनका लागि एम्वुलेन्स सेवा शुरु गरेको हो ।
सहकारीले जिल्ला भरी लघुवित्त कारोवार समेत गरेकाले विकट बस्तिहरुमा समेत महिला केन्द्र रहेको र सदस्य विरामी भएमा तत्काल उद्दार गरि सदस्यहरुलाई समय मै उपचार गर्न सकियोस् भनेर सहकारीले एम्वुलेन्स सेवा शुरु गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
काठमाडौंको ठमेलमा रहेको नेचर निट प्रा.लि.का संचालक भरत अधिकारी सहितको टोली गत वर्ष मुगु घुम्न आएका बेला दुर दराजका विरामी, सुत्केरी व्यथा लागेका महिलालाई स्थानीयले बोकेर स्वास्थ्य सस्था तिर लिदै गएकोे कारुणीक दिष्य देखेपछि टोलीले मुगालीको सेवाका लागि एम्वुलेन्स निस्वार्थ सहयोग गर्ने निर्णय गरेका थिए ।
नेचर निटका संचालक अधिकारीले आफुहरुले सहकारीलाई एम्वुलेन्स सहयोग गरेमा ग्रामीण स्तरसम्मका जनताले सेवा पाउने सुनिश्चिता देखेपछि छायाँनाथ सहकारीलाई एम्वुलेन्स सहयोग गरेको र भावी दिनमा विभिन्न विषयमा सहकार्य गर्दै अघि बढने समझदारी समेत गरेको बताउनु भयो ।
सहकारी र अधिकारीको सहकार्यमा जिल्लामा एम्वुलेन्स सेवा शुरु भएपछि सहकारीले दुर दराजका दुर्गम क्षेत्रहरुमा एम्वुलेन्स सेवा दिएर विरामी तथा विपतमा परेका व्यक्क्ति परिवारको उद्दार गर्ने कार्य गरिरहेको छ ।
जिल्ला भरी रहेका आफ्ना ९ हजार बढी सदस्यहरुलाई विभिन्न सेवा दिदै आएको सहकारीले थप एम्वुलेन्स सेवा दिन थालेपछि सदस्यहरु सहकारी प्रति विश्वास झन बढ्दैगएको सहकारीका उपाध्यक्ष कमल बहादुर बुढाले बताउनु भयो ।
२०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी ९ हजार बढी सदस्य रहेका छन् भने सदस्यहरुको बचत मात्र २१ करोड, लगानी २२ करोड र कुल कारोवार २३ करोड भन्दा बढी रहेको बताईएको छ ।
सहकारीले एम्वुलेन्स सेवामा सदस्यहरुलाई जिल्ला एम्वुलेन्स संचालक समितिले तोकेको भाडादरमा २५ प्रतिशत छुट दिदै आएको छ । छायाँनाथ सहकारीले आफ्ना सदस्यहरुलाई सुत्केरी पोषण भत्ता, मृत्य संस्कार खर्च, जन्म दिन खर्च, युवा स्वरोजगार कार्यक्रम, विना धितो लगानी, विशषज्ञ स्वास्थ्य घुम्ती सेवा, एम्वुलेन्स सेवा दिदै आएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार ०८:३२