मुगु । मुगु जिल्ला अस्पताल ठिनीमा निर्माणाधीन अस्पताल भवनको निर्माण कार्य पुरा भएको एक वर्ष पछि सञ्चालनमा आएको छ । कोरोना भाइरसको त्रासमय वातावरण सृजना भएको बेला पुरानो साँघुरो भवनमा बिरामीको उपचार गर्न समस्या देखिएकाले उक्त समस्यालाई मध्य नजरमा राख्दै जिल्ला अस्पताल मुगुले कोइका, स्वास्थ्य मन्त्रालय र कर्णाली प्रदेश सरकारका बिच अस्पताल सञ्चालनका लागि समन्वय गरेपछि जिल्ला अस्पतालको नयाँ भवनबाट उपचार सेवा शुरु भएको हो ।
अस्पताल सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल मुगुलाई परिपत्र गरेको बताईएको छ । पुरानो भवनको एकै कोठाबाट दिइदै आएको सबै खाले स्वास्थ्य सम्बन्धि सेवा हाल नयाँ भवनबाट दिन शुरु गरिएको जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर निर्मल नगरकोटिले बताउनु भयो । पुरानो साँघुरो भवनमा सबै खाले रोगीको उपचार गर्दा एक आपसमा रोग सर्ने जोखिम थियो ।
हाल नयाँ भवनबाट बिरामीलाई उपचार गर्न सारै सजिलो भएको डा. नगरकोटीले बताउनु भयो । नयाँ भवन सँगै डेन्टल, फिजियोथेरापी, आँखाको उपचार जस्ता थप सेवा पनि शुरु गरिएको डाक्टर नगरकोटिको भनाई छ । भवन निर्माणसँगै २० करोड रुपैयाँ बराबरको अस्पतालको लागि चाहिने स्वास्थ्य उपकरण कोइकाले उपल्ब्ध गराउने सम्झैता भएपनि हाल पहिलो चरणमा एक्सरे, भिडियो एक्सरे, अप्रेशनका सामग्री र फर्निचर गरि ६ करोड बराबरको सामग्री उपलब्ध भैसकेको बताईएको छ ।
पुरानो भवन १५ शैयाको थियो भने हाल बनेको नयाँ भवन ५० शैया क्षमता रहेको र त्यसका लागि कर्णाली प्रदेश सरकारबाट स्वीकृति ल्याईने पनि डाक्टर नगरकोटीले बताउनु भयो ।
२०७३ साल बाट निर्माण कार्य शुरु गरिएको उक्त भवन २०७६ पुसमा सम्पन्न गर्ने सम्झौता भएका थियो । ३ तले ६५ कोठा भएको उक्त भवनका खुल्ला र फराकिला कोठा रहेका छन् भने आधुनिक र जिल्लाकै नमूना भवनको रुपमा यसलाई लिन सकिन्छ । २५ करोड रुपैयाँको लागतमा भवन बनेको बताईएको छ । नयाँ भवनबाट सेवा दिन थालिएपछि मुगु लगायत हुम्ला तल्लो भेग दार्म, मिमी, पिप्लाङ र जुम्लाका भुलभुले, चौथा, बुम्र लगायतका ठाउँका बिरामीलाई समेत उपचारमा सहज भएको छ ।
हाल जिल्ला अस्पताल मुगुमा १ जना डेन्टल सहित ९ जना डाक्टर कार्यरत रहेकोले बिरामीको उपचार गर्न विगतको भन्दा धेरै सहज भएको जिल्ला अस्पताल मुगुका डाक्टर डबल बहादुर मल्लले बताउनु भयो ।
प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार २१:२५