मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाउँमा रहेको छायाँनाथको मन्दिरबाट आज भगवान शिव र सतीदेवीको(गाथ)मूर्ति लिएर पुजारी, सुरक्षाकर्मी तथा स्थानीय टोली छायाँनाथ धाम यात्राको लागि हिडेकोे छ ।
हिन्दु धर्मालम्विको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण भन्दै आवगामनमा रोक लगाएपनि साउन महिनामा छायाँनाथ धाममा गाथ लिनै पर्ने बाध्यकारी अवस्थाका कारण आज गाथ सहित सुरक्षाकर्मी, पुजारी र भक्तालु सर्वसाधरण छायाँनाथ धाम तर्फ हिडेको पुजारी भिम प्रसाद चौलागाईले बताउनु भयो ।
जिल्लाको मुगुम् कार्मारोङ्ग गाउँपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाम र जिल्ला कै छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ मा रहेको ऋणीमोक्ष्य धाममा वर्षेनी साउनको अष्ठमी देखि पूर्णिमासम्म देश भित्रका र छिमेकी देश भारतबाट समेत हजारौ तिर्थयात्रु आफ्ना कुल देवताको शुद्धी, नयाँ धामी, झाँक्री औतार गर्न, आफुले चाहेको बर माग्न र पितृहरुको सम्झना गर्न आउने भएकाले तिर्थालु तथा भक्तजनको दर्शनका लागि चैन गाउँको छायाँनाथ मन्दिरमा रहेका गाथहरु ५ हजार मिटरको उचाईमा रहेको छायाँक्षेत्रमा लिने गरिएको छ ।
हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १० औं अध्यायका अनुसार दक्षप्रजापतीले आफ्नो घरमा लगाएको महायज्ञमा ३३ कोटी देवी देवताहरुलाई बोलाएपनि भगवान महादेवलाई नबोलाउदा छोरी सतीदेवीले आफना बुवा दक्षप्रजापतीलाई नबोलाउनुका कारण बारे सोध्दा दक्ष प्रजापतीले महादेव बारे नानाथरीको आरोप लाल्छना लगाउँदै आफ्नो बेईजेत रोक्न ३३ कोटी देवता ज्वाई छोरीलाई बोलाएपनि महादेवलाई नबोलाएको भनेपछि आफ्ना पतिको बेईज्यत सहन नसकि यज्ञको होम कुन्डमा सतीदेवीले हामफाली प्राण त्याग गरेपछि महादेव विरक्त भै सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जादा सतीदेवीका अंग जहाँ जहाँ पतन भए ति स्थान शक्तिपिठका रुपमा स्थापना भएको र छायाँनाथमा सतीदेवीका अन्तिममा बाँकी रहेका सबै अंग पतन भएको छायाँनाथ अदभुत शक्ति पिठका रुपमा रहँदै आएको उल्लेख भएकाले अहिले पनि भगवान महादेव सतीदेवीका अन्तिममा बाँकी रहेका सम्मूर्ण अंग पतन भएको छायाँनाथ धाममा सतीदेवीको मायाले साक्षात रहि यतै बसेको हिन्दुले विश्वास गर्ने गरेको बताईन्छ ।
उता ऋणीमोक्ष तिर्थ स्थल बारे हिन्दु धर्मालम्बी छाँयानाथमा महादेव बसेकाले उहाँको ध्यान सतीदेवीबाट मोक्क्ष गराउन अप्सरा तथा देवीहरुले ऋणीमोक्क्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्क्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरु त्यहाँ रहेको भन्दै पुजाआजा र आफ्ना पाप मोक्क्ष र बर प्राप्तीका लागि आउने गरेको पुजारी पूर्ण प्रसाद चौलागाई बताउनु हुन्छ ।
छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च हिमालमा रहेका र यहाँ बाहै महिना हिउँ जम्ने भएकाले दैनिक पुजाआजा गर्न समस्या हुने भएकाले महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाउँमा रहेका छायाँनाथ र ऋणीमोक्क्ष मन्दिरमा राखिदै आएका छन् भने प्रत्येक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित गाध (मुर्ती) छायाँनाथ र ऋणीमोक्क्ष धाममा पुजाआजा र भक्तजनको दर्शनका लागि लिने गरिन्छ ।
छायाँनाथ मन्दिर रहेको चैनगाउँबाट छायाँनाथ धाम ३ दिन टाढा हिमालमा रहेको र त्यहाँ बास, गाँसको व्यवस्था नहुने भएकाले तिर्थालुले आफै बास गाँसको जोहो गरेर यात्रामा जाने गरेका छन् ।
विश्वमा रहेका हिन्दु, बौद्ध तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकास राज्यका निकायबाट हुन नसक्दा देशले धार्मिक पर्यटन गुमाउँदै आएको छ ।
देश तथा कर्णाली प्रदेशमा धार्मिक पर्यटनबाट जनतालाई आर्थिक सम्पन्ता गराउने हो भने संघीय, प्रदेश तथा स्थानीय सरकारले आ–आफ्नो क्षमता अनुसार छायाँनाथको विकासमा लगानी गर्नु पर्ने देखिन्छ ।
प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार १७:३२