मुगु । नेपाल प्रेस यूनियनका सल्लाहकार एवं पूर्व केन्द्रीय महासचिव शिव लम्साल र केन्द्रीय सचिव खिला कार्कीको पहलमा मुगु प्रेस यूनियनसँग आवद्ध क्रियाशील पत्रकारहरुलाई प्रेस ज्याकेट तथा सुरक्षा सामग्री उपलब्ध गराइएको छ ।
कोभिड–१९ ले विश्वभरीमा महामारीको रुपमा फैलिएको अवस्थामा मुगु जस्तो विकट जिल्लामा काम गर्ने क्रियाशील पत्रकारको सुरक्षालाई मध्यनजर गर्दै ज्याकेट तथा माक्स लगायतका सुरक्षा सामग्री उपल्बध गराईएको नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय महासचिव शिव लम्सालले बताउनु भयो ।
केन्द्रबाट उपलब्ध भएका ज्याकेट र नेपाल प्रेस यूनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाको पहलमा उपलब्ध गराउनु भएको माक्स लगायतका सुरक्षा सामग्री आइतबार रारा तालको किनारमा आयोजित एक कार्यक्रमा प्रेस यूनियन मुगुका अध्यक्ष विनोद कुमार मल्लले पत्रकारहरुलाई वितरण गर्नु भयो ।
ज्याकेट वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा आएर बन्दाबन्दी हटाएको भए पनि अझैं कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेकाले त्यसको रिर्पोटिङको लागि अग्रपंतिमा काम गर्ने पत्रकारहरुको लागि उपलब्ध सुरक्षा सामग्रीले ठुलो सहयोग हुने बताउनु भयो । ज्याकेट तथा माक्स लगायत सुरक्षा सामग्री पाएपछि पत्रकारहरु खुशी भएका छन् ।
सुरक्षा सामग्री मुगुमै पुगेर आफ्नैहातबाट पत्रकारहरुलाई उपलब्ध गराउने उद्देश्यका साथ सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुग्नु भएका नेपाल प्रेस यूनियनका नेता मोतीलाल पौडेल, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, नेपाल प्रेस यूनियन सुर्खेत शाखाका अध्यक्ष नरेशसिंह थापा, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेल र नेपाल प्रेस यूनियन सुर्खेत शाखाका उपाध्यक्ष अशोक राजी सहितको टोली भिषण वर्षाका कारण मुगु आउने सडक यातायात बन्द भएपछि जुम्लाबाटै फर्कनु भएको थियो ।
प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार २१:३६