मुगु । मुगु जिल्लामा रहेका नेपाली कांग्रेसका नेताहरु संगठन विस्तार गरेर पार्टीलाई मजबुद बनाउनुको सट्टा आपसी स्वार्थका कारण वादविवादमा उत्रेका छन् ।
नेपाली कांग्रेस मुगुले चारै वटा स्थानीय निकायमा गठित पालिका स्तरीय सभापति लगायत पैंतालीसै वडाका सभापतिलाई लक्षित गरि शनिबार गमगढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेताहरु आपसी वादविवादमा उत्रेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले संघीय, प्रदेश र स्थानीय चुनावमा पार्टीको हित विपरित काम गर्ने जोसुकैलाई पनि हालसम्म कार्वाही नभएकोले यथाशीघ्र कार्वाही हुनु पर्नेमा जोड दिनु भयो । पार्टीको क्रियाशील सदस्य वितरणमा कडाई गरिने बताउँदै विगतका वर्षहरुमा झ्यालबाट सदस्यता बाँढिएको भएपनि यो वर्ष पार्टीको संगठन सुदृढिकरणमा लागेका र योग्य व्यक्तिलाई मात्र क्रियाशील सदस्य दिने ठोकुवा गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले हालै गरेको आमन्त्रित सदस्य सचिव सहसचिव लगायतका पदहरु एकल ढंगकाट नभई संस्थागत निर्णयको साथै पार्टीको विधानले दिएको अधिकार प्रयोग गरि पार्टीको हितको लागि गरेको बताउनु भयो ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति खगेन्द्र बहादुर मल्लले पार्टीको टिकट लिएर निर्वाचित स्थानीय जनप्रतिनिधिहरु पार्टीको हित विपरित स्वेच्छाचारी ढंगबाट अघि बढेकाले संगठनभन्दा व्यक्तिलाई फाईदा पुग्ने बताउनु भयो । रिठो रोपेर कागती नफल्ने बताउँदै उपसभापति मल्लले संस्थागत निर्णयले छनौट भएका योजनाले मात्रै धेरै जनता लाभाम्बित हुने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सभापति ऐन बहादुर शाहीले पार्टीको अधिवेशन सकिएको ६ महिना भित्रमा पार्टीका सबै विभाग गठन गरि सक्नु पर्ने नीति भएपनि अर्को अधिवेशन आउन केही महिना मात्र बाँकी रहेको बेला बिभागहरु गठनका साथै पार्टीका आमन्त्रित सदस्य, सचिव, सहसचिव लगायतका पदहरु मनोनित गरि सभापति खड्गबहादुर शाही एकल ढंगबाट अघि बढेको आरोप लगाउनु भयो ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जब सम्म मानिसको सोच र नियति बदलिदैन तबसम्म पार्टी बलियो नहुने बताउनु भयो । नगर प्रमुख शाहीले भाषणमा जति आर्दश छाँटेपनि नियति ठिक नभए पार्टी बलियो कहिलै नहुने बताउनु भयो । नेताहरु जिल्लामा नबसेर शहरमुखी भएको आरोप लगाउनु भयो ।
नेपाली कांग्रेसका महासमिति सदस्य तिलक बहादुर मल्लले गाउँमा गएका योजनाबाट जनताले पाउने रकम कही कतै जनतामाझ नगएको भए छिटो दिन आग्रह गर्नु भयो ।
नेपाल तरुण दल मुगुका अध्यक्ष रमेश कुमार मल्लले आउँदो अधिवेशनलाई लक्षित गरि क्रियाशील सदस्यता वितरण प्रक्रियामा बढी भन्दा बढी तरुणलाई समेट्नु पर्ने धाराण राख्नु भयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल पे्रस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्लले नेपालका पार्टी कमजोर भएको खण्डमा शहिदहरुको बलिदानीले प्राप्त भएको संघीयता कमजोर हुने भएकाले सबै जना मिलेर जनताको सर्बोपरि हितका लागि संगठन सुदृढिकरण गर्दै जनताको हितमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बुद्धिजिबी जयबहादुर हितान, पार्टी सचिव गजेन्द्र बहाुर मल्ल गाउँ कार्य समितिका सभापति बिष्णु कुमार भाम लगायतले पार्टीको हितको बिषयमा बोल्नु भएको थियो ।
दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा नगर प्रमुख हरिङ्ग शाही, जङ्ग बहादुर शाही, सुर्यदवबी मल्ल, देबिकृष्ण रावल र बिक्रम बहादुर शाहीले प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार ०९:०८