मुगु । स्थानीय तहहरुको आर्थिक कारोवारको लागि संचालनमा ल्याईएको सुत्र सप्टवयरले काम नगर्दा यहाँका स्थानीय तहबाट करोडौंको भुक्तानी रोकिएको छ ।
आर्थिक वर्षको अन्तिम दिन बुधबार राती ७ बजेबाट आर्थिक कारोवारका लागि देशभर मलेनिकाले प्रयोगमा ल्याएको सुत्र सप्टवयरले काम गर्न छोडेपछि करोडौंको भुक्तानी हुन नसकेको हो ।
मुगु जिल्लामा रहेका चारवटा स्थानीय सरकार मध्य मुगुम् कार्मारोङ्ग गाउँपालिकाले मात्र आफ्नो सबै भुक्तानी दिन सकेको छ भने अन्य छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाले संघ र प्रदेशबाट आएका योजनाहरु, सर्सत अनुदान तर्फको बजेट भुक्तानी दिन सकेका छैनन् ।
संघ, प्रदेश र स्थानीय तहका ससर्त अनुदान तर्फका विकास योजना र कार्यक्रम तर्फका बजेट सप्टवयरमा आएको प्राविधिक समस्याका कारण भुक्तानी हुन नसकेपछि स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख, लेखापाल तथा शाखा प्रमुखहरु तनावमा रहेका छन् ।
सोरु गाउँपालिकाका स्टोर किपर ईश्वर सिंहले संघ र प्रदेशका योजनाहरु लकडाउनका कारण समय मै काम हुन सकेन अन्तिममा आएर कामको चाप बढेको र काम गरेर उपभोक्ताहरुले ३१ गते गाउँपालिकामा फाईलहरु पेश गरेपनि सुत्रले काम नगर्दा संघ र प्रदेशका ४ करोड बढीको भुक्तानी हुन नसकेको बताउनु भयो ।
जिल्ला सदरमुकामबाट १ दिन टाढा रहेको सोरु गाउँपालिकामा बुधबार ७ बजेबाट सुत्र सप्टवयरले काम गर्न छोडेपछि गाउँपालिकाका सबै फाईलहरु बोकेर कर्मचारी राती ८ बजे सदरमुकाम गमगढी आएका थिए । गमगढीमा पनि ईन्टरनेट र सफटवयरले काम नगरेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न जाँदा त्यहाँ पनि त्यहि समस्या देखाएपछि राती नै गाउँपालिका केन्द्रमा फर्केको र अब गाउँ सभाबाट निर्णय गरेर मलेलिका, सामान्य प्रशासन र अर्थ मन्त्रालयलाई भुक्तानीका लागि अनुरोध गर्ने सल्लाह भएको स्टोर किपर सिंहले बताउनु भयो ।
जनताले काम गरेर पनि अन्तिम समयमा आएर सफ्टवयरका कारण भुक्तानी रोकिएकाले मलेनिकाले पनि दुर्गम तथा पिछडिएका क्षेत्रहरुका लागि विषेश व्यवस्था गर्नु पर्ने कर्मचारी युनियन संघका केन्द्रिय सदस्य कृष्ण बहादुर सेजुवाल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, राज्यले बनाउने नीति, नियम काठमाडौँलाई केन्द्रमा राखेर बनाउँदाको उपज नै यो भुक्तानी रोकिनु हो ।
सुविधा सम्पन्न ठाउँहरुमा ईन्टरनेट तिव्र हुन्छ, सबै ठाउँमा यातायात सुविधा हुन्छ, निर्माण सामग्री सजिलै उपलब्ध हुन्छ तर दुर्गममा ईन्टरनेटको गति कछुवा गति भन्दा सुस्त छ, सडक हिलाम्य, गाउँ गाउँमा हिडेर जानु पर्छ, निर्माण सामग्री सहज उपलब्ध हुँदैन त्यसैमा संघ, प्रदेश सरकारले अन्तिम समयमा बजेट पठाउछन् कसरी बजेट, कार्यक्रम कार्यान्वयन गर्ने कि सरकारले तिव्र गतिको ईन्टरनेट दिनु पर्यो नत्र जनता काम गर्ने कार्यालयलाई भुक्तानी दिन समस्या परिरहने यो चक्र चलिरहने देखिन्छ ।
बुधबार दिउँसो १२ बजेसम्म भुक्तानी दिने समय भएपनि महालेखा नियन्त्रण कार्यालयमा अनुरोध गरेर राती १२ बजेसम्म भुक्तानी दिन सकिने व्यवस्था मिलाएपनि सुत्र सप्टवयरले काम नगर्दा स्थानीय तहहरुमा भुक्तानी रोकिएकाले यसको असरमा प्रत्यक्ष सर्व साधरण जनता परेकाले केहि समाधान भए निकालि दिन मलेनिकालाई अनुरोध गर्ने कोलेनिका मुगुका कोष नियन्त्रक नन्दराम कंडेलले बताउनु भयो ।
मुगु जिल्लामा ईन्टरनेट सेवा प्रदायकहरुको नेटको गति सुस्त हुँदा पनि सेवाग्रहीले समस्या झेल्दै आएका छन् । बुधबार देखि नेपाल टेलिकमले वितरण गरेको ईन्टरनेट, जिएसएम, एडिएसएल, लेनलाईन सेवाहरु अवरुद्घ हुदा पनि सुत्र सप्टवयरमा समस्या आएको बुझिएको छ ।
प्रकाशित मिति: २ श्रावण २०७७, शुक्रबार १०:१६