मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँका कृषि सामग्री वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार जिल्ला कृषि विकास कार्यालय मुगुले प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक उत्पादनका लागि मंगलवार कृषि सामग्री वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति मुगुकी उपसंयोजक कर्णसिला मल्ल र छायाँनाथ रारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष परेकराज चौलागाईले चैन गाउँमा आयोजित एक कार्यक्रममा कृषि सामग्री वितरण गर्नु भएको हो । वितरण गरिएका कृषि सामग्रीमा ग्रिन हाउस निर्माणका लागि प्लाष्टिक, स्प्रिङ्कल, लुज पाईप र उन्नत जातका बिउबिजन रहेका छन् ।
हिउँदको समयमा निर्माण गर्नु पर्ने तरकारी ब्लकका लागि ग्रिन हाउस बजेट आउन ढिलो भएकोले वर्षाको समयमा निर्माणका काम अघि बढाईएको तरकारी ब्लक सञ्चालक समितिले जनाएको छ ।
स्थानीय कृषकको ३० लाख ६९ हजार २ सय र कृषि विकास कार्यालय मुगुको अनुदान रकम ३२ लाख ५९ हजार २ सय रुपैयाँ सहित ६४ लाख २८ हजार ४ सय रहेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ ।
तरकारी ब्लक कार्यक्रमबाट चैन गाउँका ८० घरधुरी लाभान्वित हुने बताईएको छ । जिल्ला कृषि विकास कार्यालय, सहयात्री कृषि सहकारी संस्था र तरकारी ब्लक सञ्चालक समितिद्वारा सञ्चालित कार्यक्रमको परिकल्पना र उद्देश्य राम्रो भएपनि समयमै बजेटको व्यवस्था नहुँदा कार्यक्रमको व्यवस्थापनमा केही कमीकमजोरी भएको स्थानीय कृषकले केही गुनासो गरेका छन् ।
चैन गाउँको तरकारी ब्लक कार्यक्रमको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञावालीको नेतृत्वमा पत्रकार सहितको टोलीले मंगलवार अनुगमन गरेको थियो ।
प्रकाशित मिति: ३१ असार २०७७, बुधबार ११:४६