मुगु । मुगु जिल्लामा यस वर्ष स्याउ नफलेपछि यहाँका कृषक मर्कामा परेका छन् । स्याउ फुल्ने समयमा परेको असिना पानीका कारण रुखमा स्याउका दाना नफल्दा कृषक मर्कामा परेमा हुन् ।
गुलियो जातका स्याउलाई दाना मै बेच्ने गर्दथ्यौं र अमिलो जातका स्याउलाई चाना बनायर बेच्ने गर्दा वर्षेनी लाखौ रुपैयाँ आम्दानी हुने गरेको थियो तर यो वर्ष स्याउ बगैचामा एक दाना पनि सयाउ नफलेकोले मर्कामा परेको छायाँनाथ रारा नगरपालिका वडा नं ५ का कृषक रामभक्क्त रोकायाले बताउनु भयो ।
मुख्य आम्दानीको श्रोत नै स्याउ भएकाले यस वर्ष स्याउका रुख रित्तै भएपछि दैनिक गुजारा चलाउन पनि समस्या हुने र बाल बच्चाका लागि कापी कलम किन्न समस्या हुने वडा नं ५ ताल्चकै अर्का कृषक गणेश सुनारको भनाई थियो ।
स्याउ फल्दै फलेन फल लाग्दै लागेन अहिले हामीलाई सारै समस्या भयो के गर्ने गत वर्ष मुगुबाट दुई, तिन गाडी स्याउ नेपालगञ्ज लगि बेच्ने गरेका थियौं तर अहिले एक दाना स्याउ छैन, कृषक गोर्ख बहादुर रावले बताउनु भयो ।
हामी महिलाको आम्दानीको बाटो यही स्याउ थियो बाली नालीको पनि आश मारेका थियौं यही स्याउ डोकोमा गमगढी, एयरर्पोट लगेर हिउँद भरि बेच्ने गर्दथ्यौ अहिले साल दशा लागे जस्तै भयो । वडा नं ४ ताल्चकै अर्का स्याउ कृषक मायादेबि भामको पिडा पनि उस्तै थियो ।
यो वर्ष आफ्ना सबै स्याउका रुख खाली छन् । समस्या भयो । म जस्ता अरु कृषकको हालत पनि उही छ । खतेड गाउँपालिकाका कृषक दलसिंह बुढाले भन्नु भयो ।
आीर्थक वर्ष २०७६/०७७ मा मुगु जिल्लामा १ हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ भने फल्ने स्याउले ढाकेको जम्मा क्षेत्रफल ३ सय ९९ हेक्टर क्षेत्रफल रहेको जिल्ला कृषि विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पंचलाल बुढाले बताउनु भयो ।
असिना पानीका कारण यस वर्ष मुगुमा स्याउ नफलेको भएपनि गत आर्थिक वर्षमा मुगु जिल्लामा ३४ सय ५० मेट्रिकटन स्याउ उत्पादन हुँदा कृषकले राम्रो आम्दानी गरेका थिए ।
प्रकाशित मिति: ३० असार २०७७, मंगलवार ०९:५१