मुगु । गत आइतबार सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले कोरोना राहत कोषको १९ लाख र गिलाह नुवाकोट सडकको ९ लाख २१ हजार अनियमितता गर्नुकासाथै र गाउँपालिकाको छापको दुरुपयोग गर्दै मादक पदार्थ माग गरेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय मुगुमा कार्वाहीको माग गरी उजुरी दिनु भएको थियो ।
उजुरीका साथ अध्यक्ष शाहीले सडक निर्माणमा स्काभेटर प्रयोग गरेको विल, कामदारको ज्यालाको डोरहाजिरी, ८ नं वडा कार्यालयको भुक्तानी सिफारिस, टिप्पणी आदेश र गाउँपालिकाको छाप प्रयोग गरि मादक पदार्थ(रक्सी) माग गरिएको अर्डर स्लिप संलग्न गर्नु भएको थियो ।
आफु र लेखापाल विरुद्ध गाउँपालिका अध्यक्षले उजुरी गरेपछि मंगलबार दुई दिन पछि प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढा सहित गाउँपालिकामा कार्यरत २ दर्जन बढी कर्मचारीहरुले आफ्ना प्रमुख प्रशासकीय अधिकृत र लेखापालको बचाउ गर्दै जिल्ला प्रशासनमा अध्यक्ष शाही विरुद्घ उल्टै उजुरी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा सहित ६२ जना कर्मचारीको संयुक्त दस्तखतमा आज गमगढी स्थित जनता प्लाजा होटेलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाही विरुद्घ आफूहरुले जिल्ला प्रशासन कार्यालयमा मंलवार उजुरी दिएको जानकारी गराईएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सोरु गाउँपालिका वडा नं ६ मा पर्ने झिरझिर पानी देखि खोची खोला सम्मको सडक मर्मत गर्ने कार्यमा कार्यालय सहायक चन्द्र दमाईको नाममा पेश्की फर्स्याैट गरि २ लाख ८४ हजार आफ्नै खातामा लिएको, गाडी मर्मतका नाम २ लाख लिए पनि पुुनः अर्को विल प्रयोग गरि पुन १ लाख १७ हजार भुक्तानी लिई आर्थिक अनियमितता गरेको, जिन्सी शाखाबाट विभिन्न सामान तथा सवारी साधनहरु लिइ आफ्नो घर र नातेदारले प्रयोग गरि चरम पदीय दुरुपयोग गरेको, आफ्ना छोराले स्थापना गरेको ह्याचरीलाई गाउँपालिका अध्यक्ष कोषबाट ९ लाख पेश्की दिएको, का.स चन्द्र दमाईको नाममा जनप्रतिनिधि तालिम कार्यक्रम शिर्षकबाट ३ लाख लिए पनि हालसम्म तालिम संचालन नगरेको, भ्रमण खर्च वाफत १ लाख पेश्की लिएपनि अझै सोको विल, भरपाई पेश नगरेको, एकल टिप्पणी आदेशमा अक्तियार दुरुपयोग अनुशन्धान आयोगमा अनुसन्धानको क्रममा रहेका योजनाहरुलाई भुक्तानी दिन दवाव दिई भुक्तानी लिएको जस्ता ११ वटा आरोप लगाउदै पदीय दुरुपयोग र आर्थिक अनियमितता गरेको भन्दै कानुन अनुसार कार्वाहीका लागि अनुसन्धान गरि दिन हुन उक्त पे्रस बिज्ञप्तीमा भनिएको छ ।
बुधवार कर्मचारीहरुबाट जारी गरिएको प्रेस विज्ञप्तीमा आइतबार गाउँपालिका अध्यक्ष शाहीले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उजुरीको खण्डन गरिएको छ । विज्ञप्तीमा भनिएको छ, गाउँपालिकाका अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल बुढालाई लगाएको आरोप कपोकल्पित र कुनै सत्यतामा आधारित छैन बरु अध्यक्ष शाहीले तारापानी–नुवाकोट–रुम सडकको अन्तिम भुक्तानीमा १ लाख ५० हजार, प्रकोप व्यवस्थापन कोषबाट ३ लाख घुस माग्दा उपभोक्ता समिति र कार्यालय प्रमुख, लेखापालले नदिएपछि सडकको नक्कली कागजात आफै बनाई सार्वजनिक गरेको, प्रमुख प्रशासकीय अधिकृतले आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्राईभेट होटेलमा दिएको अर्डर स्लिपमा अध्यक्ष स्वयंले लिई कार्यालयमा छाप लगाई बदनाम गरेको, अध्यक्षले गाउँपालिका केन्द्रका विभिन्न होटेलमा मादक पदार्थ खाएको ठाँउमा अन्य सामानको विल हाली पटक पटक भुक्तानी लिएको पनि आज बुधवार जारी उक्त पे्रस बिज्ञप्तीमा जनाईएको छ ।
आज जारी गरिएको प्रेस विज्ञप्ती झुटो र कपोलकल्पित भएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताउनु भएको छ ।
याे पनि
सोरु गाउँपालिकाको अनियमितता छताछुल्ल
प्रकाशित मिति: २४ असार २०७७, बुधबार १७:४०