मुगु । कोभिड– १९ को कारणले बिश्व जगत नै नराम्ररी थला परेको बेला यसको नकारात्मक प्रभाव मुगुमा पनि परेको छ । बिशेष गरी नेपालकै शुन्दर र रमणीय राराताल हाल सुनसान बनेको छ ।
कोरोना भाइरस नेपालमा महामारीको रुपमा नफैलियोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारले २०७६ साल चैत्र ११ गते बाट नेपाललाई बन्दाबन्दी गर्ने निर्णय जारी गरेको थियो ।
पर्यटक आउने सिजनमा पर्यटक नआएपछि रारा ताल लगायत आसपासका सल्लेरी माझघट्ट र लामाचौर सुनसान बनेको हो । रारामा सिमित मात्रामा होटेलहरु भएपनि ताल छेउका स्थानहरुमा पाल टाँगेर पर्यटक बस्ने गर्दथे भने उक्त स्थान हाल खाली नै देख्न पाईन्छ।
विगतका वर्षहरुमा पर्यटकको घुईचो हुँदा होटेल, घोडा र डुङ्गा चलाउन भ्याई नभ्याई हुने भएपनि कोरोनाको कहरले हाल यहाँका पर्यटन व्यवसायी मारमा परेका छन् भने लाखौंको सरकारी राजस्व गुमेको छ ।
पर्यटक आउने सिजनमा आफुलाई होटेल व्यवसायबाट राम्रो आम्दानी हुने गरेको भए पनि हाल काम नहुँदा दिनभर डुलेर दिन बिताउने गरेको र कमाई सुन्य भएको रारा जाने बाटोमा पर्ने सल्लेरीका पर्यटन व्यवसायी बिष्णु बहादुर रावलले बताउनु भयो ।
आफु रारा आउने पाहुनाको सेवामा बसेको भएपनि लगडाउनले पर्यटक नआएपछि ५ रुपैयाँको कमाई नहुँदा आफुलाई घरखर्च चलाउन समेत समस्या भएको र नेपाल सरकारले लगडाउन खोलेको भए आफु जस्ता गरिखाने वर्गलाई सहज हुने सल्लेरी महादेव होटेलकी पर्यटन ब्यवसायी बसन्ती रावलले बताउनु भयो ।
समस्या केवल बिष्णुको र बसन्तीको मात्र नभई रारा तालमा डुङ्गा चलाई आप्नो जिविका चलाउँदै आउनु भएका रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सचिव लोकेन्द्र बहादुर बमको पनि समस्या उस्तैछ, उहाँका अनुसार आफुसँग भएका ६ वटा डुङ्गाले काम नपाएपछि थन्क्याउँदा आफु लगायत अन्य साथीलाई पारिश्रमिक पाउन समस्या भएको पिंडा सुनाउनु भयो । देश बन्दाबन्दीको प्रभावमा राराका घोडा सवार पनि परेका छन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका कामु प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद थपलियाका अनुुसार निकुञ्जको मुख्य उद्देश्य भनेको प्राकृतिक सम्पदालाई जस्ताको तस्तै नबिगारिकन संरक्षण गर्ने र पर्यटनको माध्यमबाट रोजगारीका अवसर सृजना गरि राष्ट्रिय आम्दानीमा टेवा पुर्याउने भएपनि देश लामो समयको बन्दा बन्दीको कारण पर्यटक आउन नपाएपछि राराको पर्यटन व्यवसायबाट व्यक्ति हुँदै राष्ट्रिय ढुकुटीमा समेत असर परेको र आय शुन्यमा झरेको बताउनु भयो । देशमा बन्दा बन्दीको समय भएपनि रारा ताल र राष्ट्रि«य निकुञ्ज क्षेत्रको पर्यावरण जोगाउनको लागि निकुञ्ज क्षेत्र भित्र बिभिन्न भौतिक पूर्वाधारका काम सम्पन्न गरेको अधिकृत थपलियाले बताउनु भयो ।
प्रकाशित मिति: २४ असार २०७७, बुधबार १५:३२