मुगु । मुगु स्थित सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम अनियमितता भएको भन्दै गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापाल बिरुद्ध प्रशासनमा उजुरी दिएका छन् ।
कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका अध्यक्ष शाहीले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा आइतबार उजुरी दिएका हुन ।
कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख गाउँपालिकाबाट ७५ लाख छायाँनाथ सहकारीबाट ५० हजार किर्डाक शाखाबाट ३ लाख लगायत र अन्य निकायबाटको सहयोग सहित १ करोड भन्दा बढी रकम जम्मा भएको र अरु रकम बिभिन्न शिर्षकमा खर्च भएपनि कोषमा बचेको १९ लाख रकम प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको अध्यक्ष शाहीले आरोप लगाउनु भएको छ ।
‘मलाई कुनै जानकारी नै नदिई लेखापाल र प्रमुख प्रशासकीय अधिकृत विचको मिलेमतोमा कोषमा रहेको १९ लाख रकम गायब गरिएको छ, अध्यक्ष शाहीले भन्नु भयो ‘दुबै जनासंग सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनु पर्ने अबस्था आएको हो ।’
कामै नभएको योजनाको उपाध्यक्षले भुक्तानी लिन खोजिन
प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाउँपालिका वडा नं ८ तारापानी–नुवाकोट–रुम सडक खण्डको कुनै काम नै नगरि उपाध्यक्ष राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेको र उक्त चेक आफूले जफत गरि प्रशासनमा पेश गरेको अध्यक्ष शाहीले जानकारी गराउनु भएको छ ।
उक्त सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा १५ लाख बजेट बिनियोजन गरेको थियो । उपाध्यक्ष बमले ४ लाख अग्रिम पेश्की लिएको सोही रकम अनुसारको काम नै नगरि बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोज्दा चेक जफत गरेको अध्यक्षले सुनाउनु भयो ।
रक्सी खानपनि पालिकाको अर्डर स्लिपको प्रयोग
सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले रक्सीका क्वाटर, मासु खान समेत पालिकाको अर्डर सिलिप प्रयोग गर्ने गरेको पाईएको छ ।
प्राप्त अर्डर स्लिपमा पालिकाको छाप र प्रमुख प्रशासकीय अधिकृत बुढाको दस्तखत रहेको छ । अधिकृत बुढाले आफुले रक्सी खान अर्डर स्लिप प्रयोग गरेको प्रष्ट देखिन्छ । अर्डर स्लिपमा बुढाले २५ वटा रक्सीका क्वाटर, १ दर्जन चम्चा, ३ वटा कचौरा र १ वटा मासुको लहरा (सुकुटी) अर्डर गरेका छन् ।
भ्रमण भत्ता पनि मनोमानीलिएको आरोप
प्रमुख प्रशासकीय अधिकृत बुढाले अध्यक्ष शाहीको आदेश स्वीकृत विनै भ्रमण आदेश एक पटक ६० हजार र अर्को पटक ७० हजार रकम लिइएको पाइएको छ । बुढाले लिएको भ्रमण भत्ता वाफतको उक्त रकम पनि नियम विपरित रहेको अध्यक्ष शाही बताउनु भयो ।
प्रशासनमा सोरुका दर्जनौ उजुरी, सुनुवाई शुन्य
सोरु गाउँपालिकामा भएका अनियमिता सम्वन्धि आधा दर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भएपनि अहिले सम्म कुनै कारबाही प्रक्रिया अघि नबढदा गल्ती गर्ने व्यक्ति, समुहको मनोबल बढेको बुझिएको छ ।
कोरोना राहतको १९ लाख रकम कुनै अनियमित नभएको बजेट नपुग्दा वडा कार्यालयबाट माग गरिएको बील अनुसार भुक्तानी दिनै बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनु भयो ।
गिलाह–तारापानी सडकको अघिल्लो वर्षकै भुक्तानी दिन बाँकी रहेको हुँदा चेक तयार गरिएको र उक्त चेक अध्यक्षले थुतेर लिएको उहाँले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत र लेखापाल बिरुद्ध पालिका अध्यक्षले दिएको उजुरी माथि छानविन प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।
गाउँपालिकामा अध्यक्ष नेपाली काँगे्रसबाट निर्वाचित हुनुहुन्छ भने उपाध्यक्ष तत्कालिन नेकपा एमालेबाट । हाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नेकपा सर्मथक भएकाले उपाध्यक्ष र अधिकृतको मिलेमतोमा अध्यक्षलाई जानकारी नै नदिई पालिकामा कार्य अगाडी बढाउने गरेकोे पनि गाउँपालिका अध्यक्ष शाहीले आरोप लगाउनु भएको छ ।
प्रकाशित मिति: २१ असार २०७७, आईतवार २१:४२