सुर्खेत । कर्णाली प्रदेशमा आज (शुक्रवार) एकै दिन २६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २६ जनालाई कोरोना पुष्टि भएको हो ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३ जना भेटिएपछि कूल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ ।
सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो । उहाँका अनुसार दैलेखमा ५ जना, सुर्खेतमा १३ जना, जाजरकोटमा ३ जना, जुम्लामा १ जना, सल्यानमा ३ जना, मुगुमा १ जना, काठमाडौँमा १ जना थपिएका छन् ।
नयाँ थप भएपछि सवैभन्दा धेरै दैलेखमा पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७६० पुगेको छभने सुर्खेतमा ३४० पुगेको छ । त्यसपछि सल्यानमा १७७, कालीकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा ३, हुम्लामा दुई, डोल्पा र रुकुम पश्चिममाभने एक-एक जना संक्रमित फेला परेका छन् ।
यसैगरी हालम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ७२० पुगेको छ । शुक्रवार दैलेख नारायण अस्पताल आइसोलेसन सेन्टरबाट ९ जना, सिम्ता आइसोलेसन सेन्टरबाट १ जना, चिङ्गाड आइसोलेसन सेन्टरबाट ११ जना, मेहेलकुना अस्पतालबाट ७ जना गरी कूल २८ जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।
कूल संक्रमितमध्ये पुरुषको संख्या १३०३ र महिलाको संख्या १३० जना रहेका छन् ।
यो सहित अहिलेसम्म कूल ७२० जना घर फर्किएको मन्त्रालयले जनाएको छ । यद्यपी कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार १६:१५