सुर्खेत । भारतबाट कर्णाली प्रदेशमा मानिसहरु फर्किन थालेपछि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सामान्य अवस्थामै चिकित्सक र स्वास्थ्यकर्मीको अभाव झेल्दै आएको कर्णाली प्रदेशले संक्रमित थपिदैँ गएपछि उपचार प्रक्रियामा थप चुनौती हुने अवस्था देखिएको छ ।
सिमित जनशक्तिको भरमा सञ्चालन भईरहेका कर्णाली प्रदेशका अस्पतालमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको अभाव रहेको छ । यस प्रदेशका दश जिल्लामा एक सय ८२ जनाको दरबन्दी रहेकोमा ३२ जना चिकित्सक कार्यरत छन्भने २ सय १७ जनाको दरबन्दी रहेको नर्सिङ स्टाफमा ६६ जना कार्यरत छन् ।
यसैगरी पारामेडिक्सको दरबन्दी ८३ जनामा २८ जना, ल्यावमा ३८ दरबन्दीमा १३ जना कार्यरत रहेका छन् । चिकित्सकको दरबन्दी अनुसार ८२ प्रतिशत दरबन्दी रिक्त छ । कर्णाली प्रदेशमा जिल्ला अस्पतालमा रहेका अहेवलगायतका अन्य स्वास्थ्यकर्मीको अवस्था पनि उस्तै छ । प्र्रदेशमा १९ वटा अस्पताल र १४ वटा स्वास्थ्य केन्द्र छन् । अहिलेकै संरचनालाई हेर्दा एक जना चिकित्सकले झण्डै १२ हजारलाई हेर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा रहेको यहि संरचनामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि थप जनशक्तिको आवश्यकता पर्ने प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्बर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो ‘यस अस्पतालमा ३ जना डाक्टरहरु रोटेसनमा राखेका छौ, १४ दिनको रोटेसन हुन्छ तिनजना डाक्टर, तिनजना नर्स र एकजना कार्यालय सहयोगीपनि राखेका छौँ । उहाँहरु छुट्टीमा जानुहुन्छ र अर्को टोली आउँछ यसले गर्दा म्यानपावर र नर्स नपुग्न सक्छ, यसले गर्दा डाक्टरहरुको अपुग हुन्छ । र अहिले हामीले थप डाक्टर र नर्सहरुको माग राखेका छौँ ।’ उहाँका अनुसार भौगोलिक विकट र दुर्गम क्षेत्र भएकै कारण कर्णाली प्रदेश स्वास्थ्यकर्मीको रोजाईमा नपर्ने हुँदा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन् ।
यस प्रदेशको अस्पतालमा कार्यरत अधिकांश चिकित्सकको दरबन्दी अन्यत्रै भएपनि काजमा यहाँ खटिएका छन् । चिकित्सक, स्टाफ नर्स र स्वाथ्यकर्मीको निवेदन नआउने र आएपनि छनौट भएका कर्मचारीपनि उपस्थित नहुने हुँदा यो समस्या भएको हो ।
कर्णाली प्रदेशका जनस्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले रिक्त दरबन्दीहरुको लागि भ्याकेन्सी खुलाएपनि चाहिनेजती चिकित्सकहरु नआएको गुनासो गर्नुभयो । उहाँले भौगोलिक विकटता रहेको यस प्रदेशमा भनेजती डाक्टरहरु नआउँदा जिल्ला अस्पतालको अवस्था झनै दयनीय हुँदै गएको गुनासो गर्नुभयो ।
प्रदेश राजधानीमा रहेको अस्पतालको स्तरोन्नती गरी तीनसय शैया क्षमताको भएपनि अझै पचास शैयाको मात्रै स्विकृति छ । प्रदेश सरकारले प्रदेश अस्पताललाई तीन सय शैया र जिल्ला अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने भनेर दुई वटा आर्थिक वर्षको बजेटमा समावेश गरेपनि काम भने अझै भएको छैन ।
सामाजिक विकासमन्त्री दल रावलले कोरोना भाइरसको संक्रमण कर्णाली समुदायमा फैलिएमा अहिलेको जनशक्तिले थेग्न नसक्ने भन्दै कर्णालीमा संघीय सरकारले ध्यानमा राख्दै चिकित्सकको आपूर्ति गरिदिए सहज हुने बताउनुभयो । उहाँले कर्णालीमा एकसय ४७ जना चिकित्सकले मात्रै नपुग्ने बताउँदै थप चिकित्सकको आवश्यक भएको जनाउनुभयो ।
प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार २०:११